समाज

गोरखामा ५ जनालाई स्वाइन फ्लू

गोरखा – गोरखाका ५ जनालाई स्वाइन फ्लूको संक्रमण भएको भेटिएको छ । सिराञ्चोक गाउँपालिका ६ स्थित गाँखुका दुई र गोरखा नगरपालिका ९ लक्ष्मीबजारका तीन जनामा संक्रमण भएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणपछि पाँच जना बिरामीमा एचवान एनवान भाइरस देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट नानीबाबु दानीले बताए । बिरामीको घाँटीमा आएको र्‍याल कपासमा संकलन गरेर प्रयोगशाला पठाइएको थियो।
 
एक मान्छेबाट अर्कोमा भाइरस सर्दै रोग फैलिएको हुन सक्ने बताउँदै महामारी रोग विशेषज्ञ समेत रहेका दानीले सुँगुरबाट फैलिएको हो भने थप खतरा हुने बताए । गाँखुमा भेटिएका बिरामीको काठमाडौँ र लक्ष्मीबजारका तीनजना गोरखा सदरमुकाम भित्रकै अस्पतालमा उपचार गरिरहेका छन् । गाँखुमा झण्डै सय जना स्थानीय बिरामी परेपछि जिल्ला जनस्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मीलाई उपचारमा ध्यान दिन र स्थानीयलाई उच्च सर्तकर्ता अपनाउन सुझाव समेत दिएको छ ।

बिरामी परेकाहरूमा रुघा, खोकी, समान्य ज्वरो, टाउको दुख्ने, शरीर भारी हुने जस्ता लक्षण देखिएको छ । स्वाइन फ्लू र मौसमी फ्लूसँग मिल्दाजुल्दा लक्षण देखिएको छ । मौसमी फ्लू भन्दा स्वाइनफ्लूले संक्रमण छिटो र गम्भीर हुने चिकित्सक बताउँछन्। 
 

 

प्रकाशित: ३० श्रावण २०७४ ०२:२७ सोमबार

गोरखामा जनालाई स्वाइन फ्लू