समाज

सप्तकोसीमा पानीको बहाव उच्च, सबै ढोका खोलियो

सप्तकोसी नदीमा पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ।

पानीको सतह घटाउन ब्यारेजका सबै ढोका खोलिए पनि नदीको बहाव भने अझै उच्च छ। शुक्रबार बेलुका ७ बजेको मापन अनुसार सप्तकोसी नदीमा पानीको बहाव तीन लाख ८० हजार ८१५ क्युसेक प्रतिसेकेन्ड पुगेको छ।

यसअघि अपरान्ह ५ बजेको मापन अनुसार पानीको बहाव दुई लाख ८५ हजार १७० क्यूसेक पुगेको थियो।

कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार यतिबेला ५६ वटा ढोकामध्ये ५६ वटै खोलिएको छ। पहाडी जिल्लामा निरन्तर पानी परि रहेकाले बिहीबारदेखि नै सप्तकोशीमा पानीको बहाव बढीरहेको थियो।

कोशी व्यारेज बन्दा नौ लाख ५० हजार क्युसेक पानी भारवहन क्षमता हुने उल्लेख छ। सप्तकोसी अहिलेसम्मको इतिहासमा सबैभन्दा बढी स्न १९६८ मा सात लाख ८८ हजार २०० क्यूसेक पुगेको थियो। सन् १९८७ मा ५ लाख २३ हजार ७७१ क्यूसेक पुगेको थियो।

२०६५ भदौ–२ गते एक लाख ६८ हजार क्यूसेक पानीको बहाव हुदाँ सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएको थियो। त्यतिबेला कोशीले पूर्वी तटबन्ध भत्काउँदा कोसी गाउँपालिकाका चारवटा मानववस्तीमा पसेको  थियो। त्यतिबेला सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काउदा ७ हजार ५ सय ६३ परिवार विस्थापीत भएका थिए।

२०६५ सालमा सप्तकोसीले तटबन्ध भत्काँउदै धार परिवर्तन गरेकोमा तीन महिनाको निरन्तर प्रयासपछि पुरानै धारमा फर्काइएको थियो।

प्रकाशित: ८ भाद्र २०८० १५:०४ शुक्रबार

सप्तकोसी नदी