समाज

’कमजोर सुरक्षाका लागि धन्यवाद’

विदेशमा विख्यात चित्रकला महँगोमा बिक्री हुन्छन्। त्यसैले चोरहरूले लुकाउन सजिलो र महँगो चित्रकला चोर्ने अनेक उपक्रम गरिरहेका हुन्छन्।

सबैभन्दा प्रख्यात आधुनिक चोरका रूपमा इटालीका भिन्सेन्जो पेरूगिया मानिन्छन्। उनले फ्रान्सको लुभ्र संग्रहालयबाट सन् १९११ अगस्तमा चोरेका थिए। संग्रहालय प्रशासनलाई यो चोरी थाहा पाउन २४ घण्टा लागेको थियो। तर चोर पत्ता लगाउन फ्रान्सेली प्रहरीलाई दुई वर्षभन्दा बढी लागेको थियो।

जब प्रहरीले उनलाई मोनालिसा बेच्न लागिरहेको ठाउँबाट पक्राउ गर्यो, उनले इटालीका महान् चित्रकार लियोनार्दो दा भिन्चीको सिर्जना फ्रान्सले चोरेको र आफूले फिर्ता ल्याएको बताइरहेका थिए।

तर वास्तविकतामा भने भिन्चीले आफूसँगै त्यो चित्रकला लिएर राजालाई उपहार दिएका थिए।

यस्तै अर्का एक चोर पनि निकै नामूद बने। सन् १९९४ मा नर्वेमा गृष्मकालीन ओलम्पिक खेलकुदको चटारो थियो। सो अवसरमा विख्यात चित्रकार एडवार्ड मन्चको निकै चर्चित चित्रकला ’द स्क्रिम’ स्थानीय संग्रहालयले प्रदर्शनीमा राखेको थियो।

खेलकुद हेर्न आउनेले चित्रकला पनि हेरून् भन्ने उद्देश्यले राखिएको सो चित्र रातारात गायब भयो। चित्र राखिएको ठाउँमा चोरले एउटा सन्देश छाडेका थिएः कमजोर सुरक्षाका लागि धन्यवाद। चोर थिए, पल एन्जर।

पछि प्रहरीले उनलाई पक्राउ गर्दा थाहा पायो, यी व्यक्तिले यसअघि पनि एडवार्ड मन्चको अर्को कृति यसरी नै यसअघि चोरेका थिए। प्रहरीले त्यो बेलाको ठूलै रकम डेढ लाख पुरस्कार दिने घोषणा गरेको थियो। किशोर उमेरका उनी हो न हो, पुरस्कारै पाइएला भनेर प्रहरीकहाँ पुगेर थाप्न पुगेका थिए।

द म्यान हु सोल्ड द स्क्रिम वृत्तचित्रका अनुसार उनले पहिलो चित्रकला चोरेर चार वर्षे जेल सजाय पाएपछि त्यहीँ महँगा चित्रकलाका बारेमा जानकारी बटुलेका थिए। सोही जानकारीका आधारमा केही वर्षपछि सजिलो गरी चोर्न मिल्ने स्क्रिम शीर्षकको चित्र चोरेका थिए। तर यस पटकको सजाय भने ६ वर्ष ३ महिना पाएका थिए।

चोरीका लागि सजाय दिनु ठीक भए पनि यति लामो सजाय दिन नहुने उनको तर्क थियो। डकुमेन्ट्रीमा भनेका छन्, ’मैले पेन्टिङ चोर्ने योजना बुनेको हुँ तर बेच्नै नपाई मलाई पक्राउ गरियो। त्यसका लागि यति लामो सजाय ठीक भएन।’

प्रकाशित: ६ भाद्र २०८० ०४:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App