समाज

कमिसन नमिलेपछि टेन्डर रद्द

धनगढी- नेपाल आयल निगमले कैलालीमा जग्गा खरिद नगरी टेन्डर रद्द गरेको छ। डिपोका लागि उपयुक्त ठाउँमा राम्रो जग्गाको टेन्डर पर्दा पनि निगम केन्द्रीय कार्यालयले टेन्डर रद्द गरेको हो। कमिसनमा कुरा नमिलेकाले टेन्डर रद्द गरिएको स्रोतको दाबी छ।

अन्य क्षेत्रमा करिब १० लाख रुपैयाँदेखि १५ लाख रुपैयाँ कट्ठाको जग्गा किनेको भए पनि त्यहाँ सबैभन्दा कम मूल्य प्रतिकट्ठा ५ लाख ९९ हजार रुपैयाँमा हालेको टेन्डर रद्द गरेको हो। त्यहाँ जग्गाको लागि दोस्रोले साढे सात लाख, तेस्रो सात लाख ७५ हजार, चौथो आठ लाख र पाँचौं १५ लाख रुपैयाँको थियो।

टेन्डर हाल्ने एजेन्टले थोरै मार्जिन राखेर हालेकोले धेरै कमिसन नआउने भएपछि रद्द गरेको निगमकै एक अधिकारीले बताए।

अत्तरियादेखि पूर्व चौमाला, पश्चिम गुलरिया, उत्तर गोदावरी र दक्षिण गेटा मोहनपुरसम्म २० बिघा जग्गा किन्न पुस २२ गते बोलपत्र आह्वान गरिएको थियो। उक्त बोलपत्र आह्वानमा पाँचवटा टेन्डर परेका थिए। चौमाला केदार आयल पछाडि भिल, अम्बैया र भोजपुरमा चार निवेदन र लालपुर हरैयामा एक गरेर पाँच टेन्डर परेको नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीका तत्कालीन निर्देशक नरेशमान डंगोलले बताए। 'अत्तरियादेखि करिब साढे चार किलोमिटर दुरीमा राजमार्गनजिक रहेको लालपुर हरैयाको जमिन डिपोका लागि एकदम उपयुक्त थियो,' उनले भने, 'जग्गा खरिद नगरी किन टेन्डर रद्द गर्‍यो मैले पनि बु‰न सकेको छैन।'

धनगढीबाट नजिक, भारतबाट आउने ट्यांकरका लागी पनि सजिलो हुने, उत्तर, पूर्व, पश्चिम सबैतिरबाट केन्द्रमा पर्ने उपयुक्त जग्गा हुन्छ भनेर आफूले सुझाव दिएको उनको भनाइ छ। टेन्डर आह्वान गर्ने, स्वीकृत गर्ने र रद्द गर्ने सबै काम केन्द्रले गर्ने उनी बताउँछन्। 'सबै केन्द्रले गर्ने भएकाले किन रद्द गरियो मलाई थाहा भएन,' उनले भने। उनी वैशाखमा सरुवा भएर अहिले निगमको केन्द्रीय कार्यालयमा छन्। 'मेरो पालामा रद्द भएको होइन,' उनले भने।

निगम क्षेत्रीय कार्यालय धनगढीका निमित्त प्रमुख शिवराज भण्डारीले केन्द्रले नै टेन्डर आह्वान गरेको र केन्द्रले नै रद्द गरेकोले केही थाहा नभएको बताए। रद्द भएको समेत ढिलो थाहा पाएको उनको भनाइ छ। 'तालिमका लागि काठमाडौं गएका बेला त्यो टेन्डर के भयो भनेर सोद्धा रद्द भएको जानकारी पाएको हुँ,' उनले भने।

प्रकाशित: १९ श्रावण २०७४ ०४:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App