समाज

काठमाडौँ महानगरले बजार व्यवस्थित गर्न भदौ १ देखि नियमित अनुगमन गर्ने

काठमाडौँ महानगरपालिकाले बजारलाई थप व्यवस्थित गर्नका लागि आगामी भदौ १ देखि नियमित अनुगमन गर्ने जनाएको छ।

यही साउन महिनाभित्र अनुगमनका लागि सूचक तयार पार्ने, सूचना र विवरण तयार पार्ने, कामको खाका तयार पार्नेजस्ता काम सम्पन्न गरी भदौ १ देखि नियमित अनुगमन गर्ने तयारी कामपाले गरेको छ। कामपाका उपप्रमुख सुनिता डङ्गोलले भदौदेखि नियमित र आकस्मिक अनुगमनलाई नियमित सञ्चालन गर्ने गरी काम भइरहेको बताइन्।

अनुगमन समितिको संयोजनसमेत रहेकी उपप्रमुख डङ्गोलले भनिन्, “अहिले पनि आकस्मिकरूपमा अनुगमनको काम भने भइरहेको छ तर यसलाई थप व्यवस्थित र नियमित गर्न लागिएको हो।”

अहिले ‘अनुगमन कार्यविधि’ तर्जुमाका लागि कार्यदल गठन भई कार्यप्रारम्भ भइसकेको छ। ‘अनुगमन टोली परिचालन कार्यविधि’ तर्जुमाको पनि थालिएको छ। “नतिजामुखी अनुगमनका लागि वार्षिक योजना, खरिद योजना, अनुगमन तथा मूल्याङ्कन योजना र नीति कार्यान्वयन योजना मुख्य औजार रहेको बताइएको छ।

विगतका वर्षहरूमा भने कामपाले आफ्नो अधिकार क्षेत्रमा पर्ने स्थानमा चाडवाड आउनै लाग्दा मात्रै अनुगमनको काम गर्ने गरेको थियो। मौसमीरूपमा गरिएको अनुगमनको काम प्रभावकारी नभएको र त्यसले उपभोक्तालाई राहत नमिलेको भन्दै कामपाले चाडवाड सुरु हुनु केही महिना अघिदेखि नै त्यस्ता काम गर्न लागिएको जनाएको छ।

चालु आर्थिक वर्षमा कामपाले आफ्नो क्षेत्राधिकारभित्र पर्ने स्थानमा व्यक्तिगत तथा संस्थागत भान्छालाई स्वस्थकर बनाई आरोग्यता कायम गर्न ‘स्वच्छ भान्छा’ कार्यक्रमका लागि तीन करोड ५० लाख विनियोजन गरेको छ। कामपाको समग्र स्वास्थ्य कार्यक्रमतर्फ भने कुल ९२ करोड  ६६ लाख ४४ हजार विनियोजन गरेको छ।

स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा उपभोक्ता अधिकार तथा बजार व्यवस्था अनुगमन समितिको व्यवस्था गरिएको छ। कार्यपालिका अन्तर्गतका विषयगत समितिले गरेका काम, स्वीकृत वार्षिक कार्यक्रमको अनुगमन उपप्रमुखको संयोजकत्वमा रहेको समितिले गर्छ।

उपप्रमुखको संयोजकत्वमा रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिले पेस गरेर नगरसभाबाट पारित भएका कार्यक्रमको अनुगमन उपप्रमुखकै संयोजकत्वमा रहेको अनुगमन तथा सुपरीवेक्षण समितिले गर्ने व्यवस्था रहेको छ। सुपरीवेक्षण समितिका कामको समन्वय एकाइले गर्छ। यस समिति मातहतमा जनजीविका र सार्वजनिक सरोकारका क्षेत्रको अनुगमन गर्न पाँचवटा अनुगमन टोली गठन गरिएका छन्।

प्रकाशित: २७ श्रावण २०८० १६:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App