समाज

जल पीडामा सुदूर: भासियो गाउँ, चिराचिरा भयो सडक

७ पहाडी जिल्ला तराईसँग टाढिए

लगातारको वर्षापछि भीमदत्त राजमार्गको भावर टोलस्थित चिराचिरा परेकाे सडक। तस्बिरः पुष्पराज जोशी/नागरिक

धनगढीको जिरो प्वाइन्ट मोहना पुलदेखि ३८ किलोमिटर उत्तरमा रहेको गोदावरी नगरपालिका वडा नम्बर ४ बुढितोलाको भावर टोल माथिबाट चर्किएर जमिन भासिँदा बस्ती विस्थापित बनेको छ भने बस्ती तल रहेको भीमदत्त राजमाग चिराचिरा पर्दा आवागमन ठप्प बनेको छ।

सोमबार राति आएको अविरल वर्षाका कारण बस्ती माथिबाट जमिन दरार परेर ९ घर भासिएका छन् भने भीमदत्त राजमार्गको ४ सय मिटर सडक चिराचिरा परेको हो।

सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने सडक चिराचिरा पर्दा सयौँ यात्रु अलपत्र परेका छन्। तराईका कैलाली र कञ्चनपुरसँग जोड्ने भीमदत्त राजमार्ग चिराचिरा पर्दा यातायात सुचारु हुन अझै केही दिन लाग्ने बताइएको छ।

सोमरबार राति ११ बजे जमिन भासिए पनि १ बजे राति निद्रा खुलेपछि हेर्दा सडकभरि पानी र जमिन चर्किएको देखेपछि घरपरिवारसँगै छिमेकीलाई उठाएर सुरक्षित ठाउँमा भागेको स्थानीय लक्ष्मी राईले बताइन्। उनले भनिन्,‘बस्ती भासिएर चिराचिरा पर्नुका साथै सडक नै उध्रिएको देखेपछि सबै अत्तालिएर ज्यान जोगाउन भाग्यौँ।’ राति १ बजे टोलका ९ वटै घरका मानिसहरु हुल बाँधेर नजिकैको बस्तीमा रहेका आफन्तको घरमा सहारा लिन पुगेको उनले बताइन्। आफू २७ वर्षदेखि सोही ठाउँमा बस्दै आएपनि अहिलेसम्म सो क्षेत्रमा त्यस्तो पहिरो जाने र जमिन भासिएको नदेखेपनि एक्कासि सोमबार राति आएको वर्षात्ले यस्तो अवस्था ल्याइदिएको उनले बताइन्। जायजेथाको नाममा त्यही जमिन रहेको बताउँदै उनले भनिन्,‘हामी यहाँ बस्ने ९ वटै परिवारका सम्पत्तिको नाममा त्यही जग्गा जमिन थियो, त्यही भासिँदा अब कहाँ गएर बस्ने भन्ने चिन्ता थपिएको छ।’

बस्ती भासिँदा भावर टोलका लक्ष्मी राई, टेकबहादुर राई, वीरबहादुर राई, वसन्त राई, नारायण राई, राकेश घिमिरे, ईश्वर बोहरा, दिनेश आलेमगर र कमल रोकामगर विस्थापित बनेका छन्। उनीहरुको घर चिराचिरा पर्नुका साथै बस्न लायक नभएको स्थानीय बताउँछन्। अहिले आफन्त तथा छिमेकी वस्तीमा उनीहरु आश्रय लिएर बसिरहेका छन्।  

भावर टोल क्षेत्रमा मात्रै नभई भीमदत्त राजमार्गको ठाउँठाउँमा पहिरो गएको छ। पहिरो गएको ठाउँमा डोजरले हटाए पनि भावर टोलको पहिरो तथा भासिएको जमिन क्षेत्रमा सडक पूर्णरुपमा अवरुद्ध छ। पहिरो र रुख रहेकाले डोजर सडक उध्रिएको ठाउँमा पुग्न समय लाग्ने भएको छ। सडकमा पहिरो जानुका साथै उध्रिएका कारण तत्काल सडक यातायात सुचारु हुने सम्भावना छैन। वर्षात् जारी रहेकाले अवरोध हटाउने र चिराचिरा परेको ठाउँमा वैकल्पीक सडक बनाउन कठिनाइ भइरहेको छ।

तराईबाट जाँदा पहिलो पटक देखिने पहिरोमा सडक डिभिजन कार्यालय महेन्द्रनगरको प्राविधिक समूहले डोजर चलाए पनि चिराचिरा परेको सडकमा कसरी ट्रयाक खोल्ने भन्ने समस्या भएको स्थानीय बताउँछन्। मंगलबार दिनभर सडक सुचारु हुने अवस्था नरहेको र अहिले पनि पहिरो खस्ने तथा सडक चिराचिरा पर्ने क्रम जारी छ। सडक डिभिजन कार्यालय महेन्द्रनगरका सव इञ्जिनियर नरेश भट्टका अनुसार पहिरो आएको ठाउँमा पन्छाउने काम भए पनि उध्रिएको सडकमा तत्काललाई ‘वान वे’सम्म पनि बनाउन प्रयास थालिने छ। अहिले सो क्षेत्रमा नेपाल प्रहरी र नेपाली सेनाले उद्धारको कार्य गरिरहेका छन्। पहाडबाट बिरामी लिएर आएको एम्बुलेन्सबाट बिरामीलाई स्टेचरमा बोकेर डाँडो छिचोल्दै नेपाली सेनाले बिरामीहरुको उद्धार गरिरहेको छ। सुदूरपश्चिमका पहाडी जिल्लाबाट आएका र तराईबाट पहाड जाने सवारी साधन बाटोमै रोकिएका छन् भने सयौँ यात्रुहरू अलपत्र परेका छन्। करिब १ घण्टा उकालो पैदल हिँडेर सडक उध्रिएको ठाउँमा पार गरिरहेका यात्रुलाई गन्तव्यमा पुग्न कठिनाइ भइरहेको छ।

सडक चिराचिरा र जमिन भासिएको भावर टोलभन्दा माथिको बस्ती पनि पूर्ण जोखिममा रहेको छ। बस्ती जोखिममा हुँदा स्थानीय आफन्तको आश्रय खोज्दै बुढीतोला गाउँतर्फ बसाइँ सरेका छन्। जमिन भासिँएको तथा सडक उध्रिएको ठाउँको स्थलगत अवलोकन गर्न सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा र आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टसहितको टोली मंगलबार दिउँसो सो क्षेत्रमा पुगेका छन्।

प्रकाशित: २३ श्रावण २०८० १४:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App