समाज

बिक्रीहुन छोड्यो संस्थानको खाद्यन्न

मुगु- सडक यातायातले सहज पुगे पछी बजारमै खोजे अनुसारको चामल कम मुल्यमा पाउन थाले पछी नेपाल खाद्य संस्थानबाट पाईने चामल न्युन मात्रामा बिक्री हुन थालेको छ।

  नाग्मा गमगढी सडक खण्ड ०६९ पुस १ गते देखि संचालनमा आए यता खाद्य संस्थानले सर्बसाधरणका लागी बितरण गर्ने चामलको मुल्य भन्दा ब्यापारीले कम मुल्यमा बेच्न थाले पछी खाद्य संस्थानको चामल बिक्रिमा कमि आएको हो।

खोजे अनुसारको चामल बजारमै सर्बसाधरणले पाउन थाले पछी पहिलेको भन्दा खाद्य संस्थानमा चामल लिने सर्वसाधारण कम आउने गरेको खाद्य संस्थान मुगुका निमित्त कार्यालय प्रमुख कर्ण बहादुर रावलले जानकारी दिए। खाद्य संस्थानमा आउने अरुवा नामक चामल ३० किलोको १२ सय ८० रुपौयाँ संस्थानले मुल्य तोकेको छ यो चामल बजारमा २५ रुपैयाँ प्रति केजीका दरले ब्यापारीले बेच्ने गरेका छन। रावलका अनुसार संस्थानले तोकेको मुल्यमा  नै खाद्यान्न बेच्ने गरेको  छ।

  गएका बर्षहरुमा खाद्य संस्थाले एकै दिनमा २ सय देखि ३ सय क्वीन्टलसम्म चामल बिक्री गरेको पाईएको छ। चामल लिन सर्बसारधणको भिडलाई प्रहरी लगाएर नियन्त्रण गर्नु पर्ने बाध्यता थियो । अहिले दिनमा २० देखि ३० क्विन्टल बिक्रि गर्न पनी धौ धौ देखिएको संस्थानले जनाएको छ । बजारमै खोजे अनुसारको चामल  खाद्य संस्थान भन्दा कम मुल्यमा पाईन थाले पछी सर्बसाधारण पनि केही रुपैयाँ जोगाउनकै लागी खाद्य संस्थानमा आउन छोडेका छन।

 चामल बिक्रिमा कमि आउन थालेपछी खाद्य संस्थानका आफना दुइै गोदाम भरि भराउ भई अन्य दुई गोदाम भाडामा लिएको छ  । खाद्य संस्थानले दिएको जानकारी अनुसार सबै गोदाम गरी ७ हजार ३० क्विन्टल चामल मौज्दात रहेको छ भने  अझै ३ हजार भन्दा बढी चामल ढुवानी हुन बाँकि रहेको छ।

चालु आर्थिक बर्षमा  खाद्य संस्थान मुगु शाँखाका लागी सरकारले १० हजार क्वीन्टल, पुलु डिपोको लागी १८ सय क्वीन्टल, सोरुकोटका लागी ७ सय ५० क्वीन्टल र श्रीकोट डिपोका लागी १५ सय क्विन्टल चामल छुटाएको भए पनि गाँउघरमा  भनेको बेला ढुवानी गर्ने जिम्मा लिएका ठेकेदारले सबै चामल पुर्‍याउन सकेका छैनन्।

 १० दिन लगाएर भेडा र खसि , खच्चड मार्फत ढुवानी गरेर हुम्ला जिल्ला सर्केगाड  र चंखेलि गाँउपालिकाको गोठी, साया, रोडिकोट,बराई, सर्किदेउ, जैर, श्रीमष्टा, मेल्छाम, मिमि, दार्मा गाँउका सर्बसाधरण प्राय खाद्य संस्थान मुगुबाट बिक्रि बितरण हुने चामल लिन आउने गरेको संस्थानको भनाई छ । आफ्नो गाँउमा रहेको खाद्यन्न डिपोमा बर्षभरी ३० किलो पनि चामल नपाईने र पाए पनि मुगुको खाद्य संस्थानमा पाईने चामलको मुल्य भन्दा २ सय बढी तिर्नु पर्ने बाध्यतासंगै बजारमा पाईने चामल ढुवानीका समस्याले झनै महङ्गो पर्ने भएकाले चामल लिन लाई १० दिन लगाएर गमगढीमा आउनु परेको सर्केगाड गाँउपालिका—६ हुम्लाकाका बल बहादुर शाहीले बताए।

आफ्नो घरबाट भेडा खसि लिएर सदरमुकाम सिमीकोट पुग्न निकै दिन लाग्ने र महंगो पनि हुने भएकाले गमगढीमा  चामल लिन आएको हुम्ला सर्केगाड गाँउपालिका—६ का बिष्णु बहादुर शाहीले बताए।

   गाँउ घरमा बजारको चामल भन्दा कम मुल्यमा खाद्य संस्थानले बिक्रिबितरण गर्ने गरेको भए पनि ग्रामिण भेगका डिपोमा ढुवानी गर्ने जिम्मा पाएका ठेकेदारले समयमै ढुवानी नगर्नाले गाँउमा जाने चामल खाद्य संस्थानमै थन्किएको छ । गाँउमा चामल नुपगे पछी  खाद्य संस्थानमै आउनु भन्दा बजारमै कम मुल्य र सहज रुपमा खोजे अनुसारको चामल पाउदा खाद्यमा चामल लिन सर्बसाधरण घटेका हुन।

प्रकाशित: ३० जेष्ठ २०७४ ०९:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App