समाज

पराजुलीविरुद्धको रिट खारेज

काठमाडौं- सर्वोच्च अदालतले कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध परेको रिट निवेदन खारेज गरेको छ। न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले बिहीबार रिट खारेज गरेको हो। रिट निवेदकले आफूले प्रमाण पुर्‍याउन नसक्ने भन्दै निवेदन फिर्ताको मागसमेत गरेका थिए।

अधिवक्ता विकास गिरीले प्रधानन्यायाधीशको रोलक्रममा रहेका पराजुलीको शैक्षिक योग्यता र जन्ममिति विषयमा प्रश्न उठाउँदै जेठ २७ मा सर्वोच्चमा निवेदन दर्ता गराएका थिए।

गिरीले आफ्नो दाबी पुष्टि हुन सक्ने अवस्था नभएकाले निवेदन फिर्ता पाउँ भन्दै बिहीबार निवेदन दर्ता गराएका थिए। अदालती बन्दोबस्तीको ९२ अनुसार आरोप प्रमाणित गर्न नसके निवेदकले रिट फिर्ता माग्न पाउने व्यवस्था छ। 

अधिवक्ता गिरीले संवैधानिक परिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संसदीय सुनुवाइ विशेष समिति, संसद् सचिवालय, राष्ट्रपतिको कार्यालय, न्यायपरिषद्लाई पनि विपक्षी बनाइ रिट दर्ता गरेका थिए।

'न्यायाधीश पराजुलीको उमेर र शैक्षिक योग्यता, नैतिक चरित्र, इमानदारीमा प्रश्न उठिरहेको भन्दै सो विषयको टुंगो नलागेसम्म उनलाई प्रधानन्यायाधीश पदमा नियुक्तिको सिफारिस नगर्न प्रतिषेधको आदेश' माग गर्दै उनले रिट हालेका थिए।

प्रकाशित: २६ जेष्ठ २०७४ ०१:५७ शुक्रबार

पराजुलीविरुद्धको रिट खारेज