काठमाडौं- दोस्रो चरणको स्थानीय तह निर्वाचनका कारण पटकपटक सारिएको कक्षा ११ को परीक्षा असार १ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले मिति तोकेसँगै परीक्षा तालिका पनि सार्वजनिक गरेको छ। बोर्डका सदस्यसचिव डिल्लीराम रिमालले कक्षा ११ को परीक्षा असार १ गतेदेखि १० गतेसम्म सञ्चालन गर्ने परीक्षा समन्वय समीतिले निर्णय गरेको जनाए। उनले कक्षा ११ को परीक्षामा यस पटक ४ लाख विद्यार्थीले सहभागिता जनाइरहेको बताए। ४ लाख विद्यार्थीका लागि ९ सय ९२ परीक्षा केन्द्र तोकिएको सदस्यसचिव रिमालले जनाए।
यसअघि पहिलो पटक कक्षा ११ को परीक्षा वैशाख २४ गतेदेखि जेठ ३ गतेसम्म तय भएको थियो। त्यसपछि दोस्रो चरणको स्थानीय तह चुनावको मिति सरेसँगै परीक्षा मिति पनि सरेर असार १ गतेदेखि ११ गतेसम्म हुने भएको थियो। पुनःनिर्वाचन मिति सरेसँगै तेस्रो पटक असार ८ गतेदेखि १८ गतेसम्म तय भएको थियो।
'बुधबारको परीक्षा समन्वय समीति बैठकले असार १ गतेदेखि १० गतेभित्र परीक्षा सञ्चालन गर्ने निर्णय गरी तालिका सार्वजनिक गरिसकेको छ,' सदस्य सचिव रिमालले नागरिकसँग भने, 'तोकिएकै समयमा परिक्षा हुन्छ। अब मिति सारिँदैन।'
प्रकाशित: १८ जेष्ठ २०७४ ०२:५३ बिहीबार