समाज

उचित मूल्य नपाउँदा कुहिएर खेर जान्छ लसुन

उत्पादित लसुनले उचित मूल्य नपाएको ओदीका किसानको गुनासो छ। जुम्लाको हिमा गाउँपालिका-२ ओदी गाउँकी ५० वर्षीया स्थानीय किसान पुर्णकली रोकायाले गत वर्ष ७ क्वीन्टल लसुन खेतमा उत्पादन गरिन्।

उनले उत्पादन गरेको लसुन समयमै बिक्री नहुँदा कुहिएर खेर गएको गुनासो पोखिन्। उनले अहिले पनि खेतमा लसुन लगाएकी छिन्। उक्त लसुनले पनि मुल्य नपाउने चिन्ता पनि उनलाई छ।  

ओदी गाउँ लसुन उत्पादनको भण्डारको रुपमा लिइन्छ। रोकाया अनुसार त्यो ठाउँमा अरु बाली उत्पादन हुँदैन। लेकाली भेग भएकाले लसुनबाटै घरखर्च चलाइन्छ, तर उत्पादन गरेको लसुन बिक्री नभए पछि किसान चिन्तित छन्।

ओदी गाउँका प्रत्येक घरपरिवारले ८ देखि १० क्वीन्टल लसुन उत्पादन गर्छन्। लेकाली भेग भएकाले प्रशस्तै मात्रामा उत्पादन हुने लसुन किसानहरुको मुख्य नगदे बाली हो। तर समुद्री सतहदेखि २ हजार ६ मिटर उचाइमा छ। अहिलेसम्म व्यापारी पुग्न सकेका छैनन्।  

बर्सेनि किसानले उत्पादन गरेको लसुन बजारको अभावले बिक्री नभएर कुहिएर खेर जान्छ। पुर्णकलीले थपिन्, 'लसुन राख्ने ठाउँ छैन, मूल्य पाउँदैन, बजार छैन, बिक्री पनि हुँदैन। एक जना गाउँकै स्थानीय व्यपारीलाई ४० रुपैयाँ केजी लसुन लैजान अनुरोध गरेको छु।'

ओदीमा लुसनका फाँट अहिले गाउँनै लोभ लाग्दो दृश्य देखिन्छ। स्थानीय तहले लसुन संकलन केन्द्र निर्माण गरेर खरिद गरी बिक्री बितरणमा समन्वय गर्नुपर्नेमा उनले जोड दिइन्।  

अर्की स्थानीय दुर्गा रोकायाको गत वर्ष रोकायाको ५ क्वीन्टल लुसन बिक्री नहुँदा घरमै कुहिएर खेर गयो। यो वर्ष पनि खेतमा लसुन लगाएको उनी बताउँछिन्। यो उत्पादन गरेको लसुन पनि खेर जाने हाेकि भन्ने उनको चिन्ता छ।लसुन किन्ने व्यापारी नहुँदा समस्या भएको उनको भनाइ छ। उनले  लसुनलाइ आफूहरुले तरकारीमा मसलाकाे रूपमा बाहेक पेट दुख्ने, झाडापखला लाग्ने, ग्याष्ट्रिकलगायतका अन्य रोगको औषधिको रुपमा  प्रयोग गर्दै आएको बताइन्।  

ओदी गाउँमा लसुन संकलन केन्द्र र कोल्डस्टोर नहुँदा यस्तो समस्या भएको  स्थानीय व्यापारी जयलाल रोकाया बताउँछन्। लसुन उखेल्नसाथ कहाँ राख्ने, बिक्री वितरण गर्न कहाँ लैजाने, कुहिने डरले पिरोल्ने गरेको उनले बताए । उनले ४० रुपैयाँमा खरीद गरेको लसुन जुम्ला सदरमुकाम, सुर्खेत, नेपालगञ्ज, पोखरा, दाङ, रुपन्देही, कपिलवस्तुलगायतका अन्य जिल्लामा लाँदा पनि प्रतिकेजी १ सय रुपैयाँमा बिक्री वितरण गर्ने गरेको बताए। 

लसुन संकलन केन्द्र र कोल्डस्टोर व्यवस्थापन गर्नका लागि पालिका र सम्बन्धित सरोकारवाला निकायहरुसँग पहल गर्दै आएको हिमा गाउँपालिका- २ का वडा अध्यक्ष हरिबहादुर रोकायाले बताए। आगामी आर्थिक वर्ष २०८०/८१ मा कृषि र लसुनलाई प्राथामिकता दिने उनले बताए ।स्था नीय तहले भौतिक विकासलाई मात्रै प्राथामिकता दिनुभन्दा सीपमूलक, उत्पादनमूलक, आयआर्जनमूलक पक्षमा ध्यान दिई जीविकोपार्जनमा सहजता ल्याउन आवश्यक देखिन्छ । असोजको पहिलो साता लगाएको लसुन तिन चार पटक गोडमेल पछि असारको पहिलो साता उखेल्ने गरिन्छ।

प्रकाशित: ९ असार २०८० ०८:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App