समाज

बाल विवाह गरेकी बालिका ‘सेल्टर’बाटै गायब

वीरेन्द्रनगर–८ मा रहेको आवाज संस्थाको कार्यालय

बाल विवाह गरेर प्रहरीले पक्राउ गरी एक गैरसरकारी संस्थाको सुरक्षित आवास गृह ‘सेल्टर’मा राखिएकी बालिका तीन महिनादेखि वेपत्ता रहेको पाइएको छ। वीरेन्द्रनगर–८ स्थित आवाज संस्थाको संरक्षणमा राखिएकी वीरेन्द्रनगरकी १७ वर्षीया बालिका फागुन १९ गतेदेखि सम्पर्क विहिन छिन्। प्रहरीले बालिकाकी आमाको उजुरीका आधारमा फागुन १५ गते बालक र बालिकालाई पक्राउ गरेको थियो। पक्राउ परेका मध्ये बालकलाई प्रहरीले हिरासतमा राखेको थियो भने बालिकालाई आवाज संस्थाको जिम्मामा लगाएर सेल्टरमा राखेको थियो।  

सेल्टरबाट फागुन १९ गते राति बालिका भागेको आवाज संस्थाले जनाएको छ। ‘काउन्सिलिङका प्रहरीले हामीलाई जिम्मा लगाएको थियो,’ आवाज संस्थाका एक कर्मचारीले भने, ‘राति सौचालय जाने बहाना बनाएर बालिका भागेकी हुन्।’ बालिका भागे लगत्तै प्रहरीलाई खवर गरिएको आवाजले जनाएको छ।

‘यसअघि पनि दुई पटक केटाहरुसँग बालिका भागेकाले काउन्सिलिङ गरिदिनका लागि प्रहरीले ल्याएर हाम्रो जिम्मामा लगाएको थियो,’ ति कर्मचारीले भने, ‘राति सौचालय जान्छु भनेर रुम बाहिर निस्केकी बालिका ढोकाको चुक्कुल लगाएर सेल्टरबाट फरार भइन्।’ ति बालिकासँगै अर्की एक बालिका पनि सेल्टरबाट भागेकी थिइन् । अर्की बालिकालाई प्रहरीले फेला पारेपनि १७ वर्षीया बालिका भने अझै सम्पर्कमा आएकी छैनन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लक्ष्मण शाहीले बालिकाको खोजी भइरहेको बताए । प्रहरीले भने आफूहरुले बालिकालाई आवाज संस्थाको जिम्मा नलगाएको बताएको छ। ‘बालिकाकी आमा आफैले एक–दुई महिना सेल्टरमा राखिदिनपर्यो भनेर आवाजमा राखेकी हुन्,’ उनले भने, ‘बालिका हराएपछि आवाज संस्था र बालिकाकी आमाले खोजी गरिदिन निवेदन दिएका छन्।’

उनले बालिका पटक–पटक एउटै केटासँग भागेर जाने गरेको बताए। ‘यसअघि पनि माघ २३ गते आमाको उजुरीपछि खोजेर ल्याएर अभिभावकको जिम्मा लगाएका थियौं,’ उनले भने, ‘दोस्रो पटक अभिभावकको उजुरी आएपछि फागुन १५ गते फेरि बालविवाह गर्ने केटाकेटी दुबैलाई पक्राउ गरेका हौं।’ उनले बालकलाई एक दिन हिरासतमा राखिएपनि बालिकाकी आमाले लिखित उजुरी नदिएकाले अभिभावकको जिम्मा लगाइएको बताए । ‘हामीले खोजी कार्य जारी राखेका छौं, बालकका अभिभावक र बालिकाका अभिभावकहरुलाई पनि छलफलका लागि बोलाएका छौं,’ उनले भने, ‘केही दिनभित्रै बालिकाको अवस्था पत्ता लाग्ला।’

बालिकाको अवस्था सार्वजनिक गर्न माग

दलितका लागि दलित आन्दोलन नेपालले आवाज संस्थाको जिम्मामा रहेकी बालिकाको अवस्था तत्काल सार्वजनिक गर्न माग गरेको छ। दलित आन्दोलनका प्रमुख खगेन्द्र सुनारले विज्ञप्तिमार्फत बालिकाको अवस्थाका बारेमा जानकारी गराउन पटक–पटक माग गरिएपनि सुनुवाई नभएको बताउँदै तत्काल अवस्था सार्वजनिक नगरिए आन्दोलन गर्ने चेतावनी दिए।  

‘फागुन १५ गते आवाज संस्थाले जिम्मा लिएकी बालिकाको अवस्थाका बारेमा जानकारी लिन जाँदा संस्थाबाट गैरजिम्मेवार जवाफ आउनुका साथै आफन्तहरुलाई दुव्र्यवहार, अपमान र गालीगलौज गरिएको छ,’ अध्यक्ष सुनारले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘आधिकारिक रुपमा संस्थाले जिम्मा लिएकी बालिकाको अवस्था तत्काल सार्वजनिक नगरिए आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुनेछौं।’

प्रकाशित: ३० जेष्ठ २०८० ०८:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App