समाज

नेपाल-चीन संयुक्त सैन्य तालिम

काठमाडौं- नेपाल–चीन संयुक्त सैन्य तालिम हुने भएको छ। अन्तर्राष्ट्रिय चासोको विषय बनेको नेपाल–चीन सैन्य तालिम 'मित्रता सगरमाथा–२०१७' आइतबारदेखि नेपालमा हुन लागेको हो।

नेपाल र चीनबीच हुने पहिलो तालिम प्रतिआतंकवाद कारबाहीमा केन्द्रित हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। नेपाली सेना र भारतीय सेनाबीच 'अभ्यास सूर्य किरण' हुँदै आएको छ। यस्तै अमेरिकी सेनासँग 'ब्यालेन्स नेल' संयुक्त सैन्य अभ्यास हुँदै आएको छ।

सैनिक प्रवक्ता सहायक रथी झंकरबहादुर कडायतले नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच संयुक्त सैन्य अभ्यास नभई तालिम हुन लागेको बताए। उनले दुई देशका सेनाबीच १० दिन सैन्य तालिम हुने बताए।

'आतंकवादविरुद्ध कारबाहीमा केन्द्रित संयुक्त सैन्य तालिम हुनेछ, यो संयुक्त सैन्य अभ्यास होइन,' कडायतले भने।

निर्देशनालयका अनुसार नेपालको परराष्ट्र तथा सुरक्षा नीतिमा आधारित रही नेपाली सेनाले सैनिक सम्बन्ध विस्तारका लागि विगतदेखि छिमेकी देशसँग गर्दै आएको संयुक्त सैन्य तालिमकै निरन्तरता 'मित्रता सगरमाथा' हो। तालिम विपद् व्यवस्थापनलगायत अन्य साझा सरोकारका विषयमा केन्द्रित हुनेछ।

'विश्वको गम्भीर सुरक्षा चुनौतीका रूपमा देखा पर्दै आएको आतंकवादबाट भविष्यमा आउन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै तालिम आयोजना हुन लागेको हो', सेनाले भनेको छ।

भारतीय पक्षले नेपाल र चीनबीचको संयुक्त सैन्य तालिममा आशंका व्यक्त गरेपछि स्थगनको संघारमा रहेको तालिम चिनियाँ रक्षामन्त्री चाङ वान क्वानको नेपाल भ्रमणपछि टुंगोमा पुगेको हो। उच्च सैन्य अधिकारीका अनुसार महाभूकम्पमा मानवीय उद्धार र सहयोगमा आएको चिनियाँ सैनिक टोलीले नेपाली सेनासँग संयुक्त सैन्य तालिमका लागि औपचारिक चासो राखेको थियो।

त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागमा अध्यापन गराउँदै आएका सुरक्षा मामिला विज्ञ दीपकप्रकाश भट्ट सैन्य तालिमलाई चीनसँग रणनीतिक साझेदारीमा नेपालले चालेको महŒवपूर्ण कदम भएको बताउँछन्।

'यो सरकारको बोल्ड स्टेप हो। विश्वव्यापी रूपमा बढ्दै गएको सुरक्षा चुनौती सामना गर्न दुवै छिमेकीसँग राम्रो सहकार्य आवश्यक छ', भट्टले भने, 'छिमेकी देश भारतसँग यसअघिदेखि संयुक्त सैनिक तालिम हुँदै आएको थियो। अहिले चीनसँग पनि हुँदा राम्रो हुन्छ। चीन नेपालको छिमेकी राष्ट्र मात्रै होइन छिमेकी विश्वको शक्ति राष्ट्र पनि हो।'

भारतले पनि चीन र अमेरिकासँग छुट्टाछुट्टै  संयुक्त सैन्य तालिम गर्दै आएको छ।

'विश्वकै ठूलो रक्षा बजेट भएको र प्रविधियुक्त सेनासँग हुने संयुक्त सैन्य तालिमको फाइदा नेपालले लिन सक्नुपर्छ, यसले रक्षा कूटनीतिलाई विस्तार गर्न सघाउनेछ', भट्टले भने। तालिम वैशाख १२ मा समापन हुनेछ।

प्रकाशित: ३ वैशाख २०७४ ०२:२१ आइतबार

नेपाल-चीन संयुक्त सैन्य