समाज

ढुंगेललाई सात दिनभित्र पक्राउ गर्न आदेश

काठमाडौं- सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैद सजाय  सुनाए पनि फरार रहेका माओवादी केन्›का नेता बालकृष्ण ढुंगेललाई सात दिनभित्र पक्राउ गर्न वारेन्ट आदेश जारी गरेको छ।

न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले हत्याको अभियोगमा दोषी ठहर ढुंगेलले सार्वजनिक अभिनन्दन लिँदै हिँडेको र अदालतको फैसलालाई पनि चुनौती दिएको भन्दै उनलाई एक साताभित्र पक्राउ गर्न बिहीबार प्रहरी महानिरीक्षकलाई  आदेश दिएको हो। सर्वोच्चले पक्राउ प्रतिवेदन आदलतमा पेस गर्न पनि भनेको छ।

'स्वतन्त्र न्यायपालिका, विधिको शासन, पीडित तथा समाजका निम्ति खतरा बनिरहेका ढुंगेललाई सात दिनभित्र पक्राउ गरी जानकारी गराउन प्रहरी महानिरीक्षकका नाममा आदेश।

सर्वोच्चले मिति तोकेरै ढुंगेललार्य पक्राउ गर्न आदेश दिएकाले यो कार्यान्वयन हुने देखिन्छ। 'स्वतन्त्र न्यायपालिका, विधिको शासन, पीडित तथा समाजका निम्ति खतरा बनिरहेका ढुंगेललाई तत्काल पक्राउ गर्नुपर्ने देखिन्छ' सर्वोच्चको आदेशमा भनिएको छ, 'निजलाई पक्राउ गर्नका लागि बारेन्ट आदेश जारी गरिएको छ।'

आफू र मातहतका सम्पूर्ण प्रहरी संरचना परिचालन गरी पक्राउ गर्न र जो, जससँग समन्वय गर्नुपर्ने हो त्यसमा कमी हुन नदिन सर्वोच्चले प्रहरी महानिरीक्षकका नाममा आदेश जारी गरेको छ।

'जहाँबाट सम्भव हुने हो त्यहींबाट आदेश गरी ढुंगेललाई पक्राउ गर्नू' आदेशमा भनिएको छ, 'सात दिनभित्र पक्राउ गरी सम्बन्धित कारागारमा जिम्मा लगाई अदालतलाई प्रतिवेदन पेस गर्नू।'

पक्राउ परेपछि निजउपर किन अवहेलनामा कारबाही गर्न नपर्ने हो सम्बन्धित कारागारबाटै जबाफ पठाउन पनि आदेशमा भनिएको छ। 

न्याय सम्पादनमा कसैले अवरोध गरे, अपराधीलाई लुकाउने, लुक्न सहयोग गर्ने, बचाउ गर्ने र भाग्न मद्दत गर्नेलाई समेत कानुनले छुट नदिने चेतावनी आदेशमा छ। 

ढंगेलका नाममा पक्राउ वारेन्ट जारी गर्न माग गर्दै बुधबार अधिवक्ता दिनेश त्रिपाठीले अवहेलना मुद्दा दर्ता गरेका थिए।

ढुंगेलले आफूविरुद्ध फैसला सुनाएको भनी पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई गाली गरेको र सार्वजनिक अभिनन्दन लिँदै अदालतलाई चुनौती दिएको जिकिरसहित पक्राउ वारेन्ट जारी गर्न माग गरिएको थियो।

पछिल्लोपटक फागुन ३० गते ढुंगेललाई गृहजिल्ला ओखलढुंगामा क्रियाशील माओवादी सम्बद्ध दलले नागरिक अभिनन्दन गरेका थिए। नयाँ शक्ति पार्टी, नेपाल, नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी माओवादीले संयुक्त रुपमा ढुंगेललाई अभिनन्दन गरेका थिए।

२०६१ सालमा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो। सो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो। तर पछि सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेको थियो।

प्रकाशित: १ वैशाख २०७४ ०१:५६ शुक्रबार

ढुंगेललाई दिनभित्र पक्राउ गर्न आदेश