समाज

इलामका डेढ दर्जन हाट बन्द

इलाम – बढ्दो सहरीकरण र बजार विस्तारसँगै इलामका साबिकका गाविसमा पुस्तौँदेखि तिथि र बारका आधारमा लाग्दै आएका डेढ दर्जन हाट बन्द भएका छन् । यहाँका ४८ ठाउँमा तिथि र बारका आधारमा लाग्ने गरेका हटियामध्ये १८ ठाउँमा लाग्ने हटिया बन्द भएका हुन् । 

जमुना, जोगमाई, फलाँटे, मङ्गलबारेको बुधबारे, नामसालिङको शुक्रबारे, फिक्कलको बरबोटे, आइतबारेलगायतका ठाउँमा लाग्ने गरेको हाट अहिले लाग्दैन । द्वन्द्वका बेलादेखि गोर्खे हाट बन्द भएको छ । सडक आसपासमा पर्ने साना बजारमा साप्ताहिकरूपमा हाट लगाउने चलन सुरु भए पनि परम्परागतरूपमा लाग्दै आएका हाट लाग्न छाडेको एक अध्ययनले देखाएको अध्ययनमा संलग्न राम रिमाल बताउँछन्। 

तिथि र बारका आधारमा लगाइने हाट बजार बन्द हुँदै जाँदा सडक सुविधा विस्तार भएको ठाउँमा बजार सर्दै गएका छन् । सशस्त्र द्वन्द्वका समयमा तत्कालीन माओवादीले तिथिका आधारमा लाग्दै आएका धेरै हटिया बन्द गराए । सडक छेउमा विस्तार भएका बजारमा साप्ताहिक हाटसमेत लाग्न थालेका छन् । सडकसँगै जोडेर पसल राख्ने चलनले सडकलाई ठाउँ पुग्न छाडेको छ । बजारका कारण सडक साँघुरिँदै गएपछि केही ठाउँमा बजारलाई छाडेर सडक बनाइएका छन् । सडक छेउमा बजार निर्माण गर्ने र हटियासमेत लगाउने परिपाटीले यातायात अस्त–व्यस्त बन्ने गरेको छ । 

यहाँका पुराना बजार सडक सुविधा नपुगेकै कारण बन्द हुँदै गएका छन् । सडक पुगेका ठाउँमा मात्र पुराना बजारले निरन्तरता पाएका छन् । एकताका चम्किएको इलामको पुरानो गोर्खे बजार बन्द छ । जिल्लाकै पुरानो बजारका रूपमा रहेको गोर्खे अहिले चकमन्न छ । गोर्खेबजार भारतबाट सरसामान ल्याएर बिक्री गर्ने बजार थियो । गोर्खेबाटै इलाम सदरमुकामसम्म सामान ल्याइन्थ्यो । विसं १९६० अघि नै भन्सार र प्रहरी चौकीसमेत भएको गोर्खे बजार सुकेपछि त्यहाँ रहेको भन्सार र प्रहरी चौकीसमेत अहिले त्यहाँ छैनन् । भारतबाट मानेभञ्ज्याङसम्म गाडी आउँदा गोर्खेमा सबै प्रकारका सामान पाइन्थ्यो । जिल्लामा सडक सञ्जाल विस्तार भएसँगै गोर्खेबजार सुक्दै गएको हो । 

बाटोको पहुँच नपुगेको नाम्सालिङको शुक्रबारे बजार बन्द छ । भारतसँग नजिकमा पर्ने शुक्रबारेबजार पनि एकताका खुब चल्तीको बजार थियो । विसं १९६० भन्दा अघिदेखि नै व्यापारिक कारोबार हुने बजारमा अहिले पसल नगन्य मात्रामा छन् । गाउँमा अन्यत्रबाटै सामान जान थालेपछि बजार सुस्ताएको छ । फाकफोकको फलाँटे, माईपोखरीको देउराली, जमुनाको बुधबारे बजार पनि बाटोकै असहजताले बन्द भएका हुन् । माईपोखरीको देउरालीसम्म सडक पुगेपछि बुधबारे बजारको चमक घटेको स्थानीय बताउँछन् । 

सूर्योदय नगरपालिकाको पञ्चकन्यास्थित आइतबारे बजार पनि सुस्ताएको छ । मेची राजमार्गले बजारलाई छोएपछि आइतबारे बजार सेलाउँदै गएको हो । यातायातको विकाससँगै राजमार्ग क्षेत्रका बजार नयाँ केन्द्रका रूपमा उदाउँदैछन् । ती बजारमा कृषिजन्य उत्पादन, खाद्य सामानको किनबेच बढ्दै गएको छ । सडक सुविधा पुगेका ठाउँमा रहेका कतिपय बजार अहिले पनि छन् । हाट बजारमा ६० प्रतिशत कृषि र पशुजन्य उत्पादन किनबेच हुँदै आएको थियो । रासस 
 

प्रकाशित: २१ चैत्र २०७३ ०९:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App