समाज

मौसम अझै धुम्म हुने

काठमाडौं- ती दिन लगातार बिग्रिएको मौसम शुक्रबार केही सुधार हुन सक्ने मौसमविद्ले बताएका छन्। उनीहरूका अनुसार यो सुधार शनिबार मध्याह्नसम्म मात्र कायम रहने छ। पूर्वी क्षेत्रमा भने केही दिन मौसम 'धुम्म' नै हुनेछ।

 'बिहीबारको तुलनामा शुक्रबार आकाश अलि सफा हुन्छ। तर, शनिबार सा“झदेखि आइतबारसम्म फेरि मौसम बिग्रिनसक्छ', मौसमविद् बरुण पौडेल भन्छन्। उनका अनुसार प्रारम्भिक मनसुनको समय भएकाले दुई दिन फेरि मौसम बिग्रिने सम्भावना छ। यस अवस्थामा काठमाडौं, पोखरा, धनकुटालागयत क्षेत्रमा छिटपुट वर्षा हुनसक्छ।

 'प्रारम्भिक मनसुनमा स्थानीय रुपमा पनि बादल बन्ने प्रक्रिया त्यत्तिकै हुन्छ। दुई दिन त्यसले प्रभाव पार्न सक्छ। त्यसैमा पश्चिमी वायुको प्रभाव पनि पर्ने देखिन्छ', पौडेलले भने, 'यसले विशेषगरी पहाडी क्षेत्रलाई प्रभाव पार्ने छ।' उनका अनुसार तराई क्षेत्रमा भने बिहीबारदेखि नै आकाश खुलेको छ।

 तीन दिन लगातार घाम नलाग्दा घटेको तापक्रम बिहीबार भने एक्कासी बढेको छ। 'आकाश हल्का खुल्नेबित्तिकै तापक्रम ह्वात्तै बढेको छ। सबैले गर्मी महसुस गरेका छन', पौडेलले भने। उनले उदाहरण दिँदै भने, 'बुधबार विराटनगरको अधिकतम तापक्रम २२ डिग्री सेल्सियस थियो, बिहीबार २७ पुग्यो। बुधबार काठमाडौंको अधिकतम तापक्रम २० डिग्री सेल्सियस थियो बिहीबार २६ पुग्यो।'

 पौडेलका अनुसार बंगालको खाडीमा न्यूनचापीय रेखा भएकाले नेपालको पूर्वी पहाडी आकाश शुक्रबार पनि सफा हँुदैन। त्यो रेखाले केही दिन पूर्वी क्षेत्रको मौसम सुधार हुन दिँदैन।

 चार दिनदेखि काठमाडौंको आकाश सेतो तुवाँलोले धुम्म भएको थियो। पौडेलका अनुसार जलवाष्पयुक्त वायुमा धुवा“ र धुलोका कण मिसिएपछि त्यो बाक्लो भयो र तुवाँलो लागेको जस्तो देखियो। 'त्यसैले आकाश धमिलो देखिएको हो', उनले भने, 'बिहीबार जलवाष्प वितरण कम भयो र अकाश अलि सफा भयो।'

प्रकाशित: १८ चैत्र २०७३ ०२:३४ शुक्रबार

मौसम धुम्म हुने