कोहलपुर – नेपालगन्ज उपमहानगरपालिका भित्रका विभिन्न स्थानमा विद्युत चोरी गर्ने ६ जनालाई सोमबार बिहान पक्राउ गरिएको छ । नेपाल विद्युत प्राधिकरण नेपालगंज वितरण केन्द्रले चुहावट नियन्त्रण कार्य अन्तर्गत विद्युत चोरी गर्ने ६ जनालाई पक्राउ गरेको हो ।
उपमहानगरपालिकाको ८, १२ र २५ वडाबाट उनीहरू बिहान पक्राउ परेका हुन् । पक्राउ परेका ६ जनाबाट एक लाख १० हजार रुपैँया जरिवाना असुली गरिने विद्युत प्राधिकरण वितरण केन्द्र प्रमुख उमेशकुमार झाले बताए । नेपालगंज वितरण केन्द्र कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।
घरका मिटर, तारबाट डाईरेक्ट हुकिङ्ग गरेर विद्युत चोरी गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । उनीहरूको साथबाट विद्युत चोरी गर्न प्रयोग गरिएको तार, मोटर, मिटर नियन्त्रणमा लिएको छ ।
प्रकाशित: १४ चैत्र २०७३ ०४:४७ सोमबार