समाज

ललितपुरमा विश्वशान्ति पूजा

ललितपुर- धर्म कुनै राजनीति होइन, यो त सर्व परमात्माको ज्ञान र सिकाइको भण्डार हो। यसमा कुनै राजनीति हुँदैन, जसले सक्यो त्यो अहम्बाट मुक्त हुन्छ। यही भनाइलाई सर्वोपरी ठान्दै १४ वर्षमै तपस्यामा लाग्ने व्यक्ति हुन् रामबहादुर बम्जन (गुरु महा सम्बोधि धर्म संघ)। उनी बुद्धबाट प्रभावित भएर आफूलाई पनि त्यस्तै खाले कार्यमा समर्पित गरेको सुनाउँछन्।

उनले बाराको रतनपुरी र हलखोलरिया जंगलमा ६ वर्ष निराहार तपस्या बसे। त्यहाँ उनले आध्यात्मिक चेतना र ज्ञान लिए। तपस्यापश्चात् उनी मानिसलाई निष्पक्ष राख्ने र शान्ति दिलाउने अभियानमा लागेका छन्। पछिल्लो समय उनी 'बुद्ध ब्वाई' को नामले परिचित छन्।

उनैले सुरु गरेको गुरु महासम्बोधि धर्म संघले अहिले ललितपुरको बुङ्मतीमा विश्वशान्ति महामैत्री पूजा एवं महादर्शन आशीर्वाद कार्यक्रम सञ्चालन गरिरहेको छ। चैत ८ देखि सुरु भएको महादर्शनमा दर्शनार्थीको भीड लागेको बोधी श्रवण धर्म संघ केन्›ीय समितिका केबल मैत्रीले जानकारी दिए। उनका अनुसार २० गतेसम्म सञ्चालन हुने महामैत्री पूजामा सयभन्दा बढी देशका मैत्री धर्म गुरुका अनुयायी सहभागी छन्।

महामैत्री पूजाको अवसर पारेर ७५ फिट अग्लो मैत्रीय गुरुको थांकासमेत प्रदर्शन गरिएको छ। थांका प्रदर्शनी दर्शनार्थीका लागि थप आकर्षण बनेको छ।

मैत्रीमार्ग धर्मका प्रवर्द्धक धर्मगुरु महासम्बोधी धर्म संघले महापूजाका क्रममा आशीर्वाचनयुक्त प्रवचन दिनुका साथै विविध पूजापाठसमेत भइरहेको छ।

बोधीमार्ग दर्शन मैत्री धर्मको प्रवर्द्धनका लागि विश्व भ्रमण गर्नुअघि धर्मगुरु महासम्बोधी धर्म संघबाट नेपालमा हुने यो अन्तिम मैत्री पूजा भएको आयोजकले जनाएको छ। ६ वर्ष लामो तपस्याबाट प्राप्त शान्ति ज्ञानलाई धर्मदेशनामार्फत प्रचार गर्ने क्रममा हालसम्म पाँच जिल्लामा गरी १३ पटक महापूजा आयोजना भइसकेको संघले जनाएको छ।

१३ दिने महामैत्री महादर्शनमा बोधीमार्ग दर्शन मैत्रीय धर्मका दुर्लभ रहस्य, २१ लोकको रहस्य उद्घोष, महामैत्रीयनाथको ७५ फिट अग्लो थांका प्रतिस्थापनलगायत क्रियाकलाप भइरहेका छन्।

प्रकाशित: १३ चैत्र २०७३ ०४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App