समाज

गैंडाको नक्कली खाग बनाउने उपकरणसहित ३ पक्राउ

काठमाडौं– गैंडाको नक्कली खाग बनाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरुमा मकवानपुर फापरबारी–९ का २५ वर्षीय सोमबहादुर सिंगर, मकवानपुर धियाल–६ बस्ने १८ वर्षीय अनिलबहादुर लामा र ललितपुर उप–महानगरपालिका–१४ सानोगाउँ बस्ने काभ्रेपलाञ्चोक बल्थली–४ बस्ने ४५ वर्षीय शक्ति घिमिरे रहेको  प्रहरी प्रधानकार्यालयले जनाएको छ । 

प्रहरीको अनुसार दुर्लभ वन्यजन्तु गैंडाको खाग ओसारपसार तथा खरिदबिक्री भइरहेको भन्ने सूचनाको आधारमा ब्यूरोबाट खटिएको प्रहरीले टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ । नक्कली गैंडाको खाग बनाउन प्रयोग गरेका बिभिन्न सामानहरुसहित चैत ९ गते पक्राउ गरिएको हो। 

उनीहरुबाट ९ सय ४८ ग्राम तौल भएको गैंडाको जस्तो नक्कली खाग १ थान, नक्कली खाग बनाउन प्रयोग गरेका सामानहरु हेक्सो ब्लेट १, फलाम काटने कैंची १, पिलास २, सानो हथौडा २, ठूलो हथौडा २, रेती २, छिनो १, मुर्तीमा खोप्ने टाँगो ३, मुर्तीमा लेप लगाउने फलाम १ र कोइला समेत बरामद भएको र छानविनका लागि उनीहरुलाई जिल्ला वन कार्यालय ललितपुरमा बुझाएको प्रहरीले जनाएको छ। 

प्रकाशित: १० चैत्र २०७३ ११:५२ बिहीबार

गैंडाको नक्कली खाग बनाउने उपकरणसहित पक्राउ