समाज

खोलामा लुगा धुनेको भीड

भक्तपुर-भक्तपुरको ब्रह्मायणी खोलामा दैनिक लुगा धुनेको भीड लाग्ने गरेको छ। भक्तपुर नगरको सुदुरपूर्व चाँगुनारायण नगरपालिकाको सिमानासँग जोडिएको यहाँको यो खोलामा दैनिक सयौं स्थानीय लुगा धुन पुग्छन्। सातामा विशेष गरेर शनिबार त्यहाँ लुगा धुनेको अत्यधिक भीड लाग्ने गरेको छ। साथसाथै नुहाउन आउने, तरकारी पखाल्नेलगायतका सफाइका काम गर्न आउनेको पनि त्यहाँ उत्तिकै भीड लाग्ने गरेको छ ।

खोलाको पानी सफा रहेकाले लुगा धुनेको भीड लाग्ने गरेको हो । बस्तीको सबैभन्दा माथि रहेकाले खोलाको पानी सफा छ । त्यहाँभन्दा माथि खासै ठूलो बस्ती छैन । ब्रह्मायणीबाट एक किलोमिटर पर थुसाचा पुलसम्म पुग्दा खोला ढलमय हुन्छ । भक्तपुरका हनुमन्ते, खासागखुसगलगायतका सबै खोला दुर्गन्धित छन् ।

खोला आसपासका बस्ती लिवाली, कमलविनायक, सूर्यमढीलगायतका हजारौं परिवार त्यहाँ लुगाधुन पुग्छन्। लिवालीकी सरिता बोहजूले घरमा लुगा धुने पानी नभएकाले हप्तैपिच्छे खोलामा जाने बताइन् । उनका अनुसार लिवाली क्षेत्रमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पाइपलाइन बिच्छ्याएको छैन । यो नयाँ बस्ती हो । स्थानीयले पैसा उठाएर सार्वजनिक ट्यांकी राखी पानीको बन्दोबस्त मिलाएका छन् । स्थानीयले खानका लागि त्यहींबाट पानी लिने गरेका छन् । तर लुगा धुन भने त्यहाँ पानीको ठूलो समस्या छ । 

सूर्यमढीकी लक्ष्मीशोभा प्रजापतिले पानी खरिद गरेर लुगा धुने क्षमता परिवारको नभएकाले खोलामा गएर लुगा धुन जानुपर्ने अवस्था रहेको बाध्यता सुनाइन् । ‘खानेपानी किन्न गाह्रो छ, लुगा धुन कसरी किन्न सक्नु ?’ उनले भनिन्, ‘त्यही कारण अधिकांश परिवार त्यही खोलामा लुगा धुन र नुहाउन जान्छन् ।’

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) भक्तपुर शाखाका प्रमुख सुरेन्द्र हिमालयका अनुसार जिल्लामा दैनिक एक करोड लिटर पानीको माग छ । तर यहाँं मागको एक चौथाइ अर्थात् २५ लाख लिटर पानी मात्रै वितरण गर्न सकेको छ । त्यसैले उपभोक्ताले लुगा धुन पानी पाउन नसकेका हुन् ।

प्रकाशित: ९ चैत्र २०७३ ०२:२४ बुधबार

खोलामा लुगा धुनेको भीड