समाज

बुधबारसम्म मौसम अस्थिर

काठमाडौं- पश्चिमी र स्थानीय वायुको कारण गत शुक्रबारदेखि देखिएको मौसमी बदली अझै केही दिन कायम रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी र स्थानीय वायुको कारण मौसममा परिवर्तन भइरहेको छ।

मौसमविद्का अनुसार यो वर्ष देखिएको मौसमी बदली फरक भने होइन। 'हरेक वर्ष यो समयमा पानी पर्ने, घाम लाग्ने, कुहिरो लाग्नेजस्ता मौसमी क्रियाकलाप देखा पर्छन्,' महाशाखाका वरिष्ठ मौसमविद् सुदन सुवेदीले भने, 'मंगलबारदेखि काठमाडौंको आकाशमा तुलनात्मक सुधाए आए पनि  पूर्वी नेपालका केही भागमा पानी पर्ने सम्भावना छ।'

उनका अनुसार पूर्वी क्षेत्रमा मौसममा सामान्य परिवर्तन देखिनेछ भने मंगलबार र बुधबार यस क्षेत्रमा तुलनात्मक रुपमा अघिल्लो दिनभन्दा बढी बदली हुनेछ भने हल्का वर्षा पनि हुन सक्नेछ। 'आजभन्दा भोलिको मौसममा तुलनात्मक सुधार त देखिन्छ तर अझै कति दिन आकाश खुल्दैन, यसै भन्न सकिन्न,' मौसमविद् सुवेदीले भने।

अघिल्लो साता पनि पश्चिमी वायुको कारण उपत्यकालगायत देशका अधिकांश ठाउँमा वर्षा भएको थियो। अघिल्लो साताको वर्षाले उपत्यकामा जाडोसमेत बढाएको थियो। उपत्यकाको तापक्रम वृद्धि भएर २४ डिग्री सेल्सियस पुगे पनि वर्षाले १८ डिग्री सेल्सियसमा झारेका कारण चिसो अनुभव भइरहेको महाशाखाको भनाइ छ।

प्रकाशित: ८ चैत्र २०७३ ०२:५२ मंगलबार

बुधबारसम्म मौसम अस्थिर