समाज

अपहरण तथा बन्धक मुद्दामा फरार पनेरु पक्राउ

काठमाडौं- अपहरण तथा शरीरिक बन्धक मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन्। रुपन्देही जिल्ला अदालतको २०६९ भदौ १३ गतेको फैसलाले २ बर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना सजाय भई फरार रहेका काठमाडौं पुरानो नैकाप बस्ने ३४ वर्षीय  भाष्कर पनेरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले सोमबार पक्राउ गरेको हो।

                २०६७ सालमा रुपन्देही, टिकुलीगढ गाविस–१ खैरिया बस्ने कृष्णप्रसाद भुषालले भारतीय नम्बरको सिम प्रयोग गरी चण्डीप्रसाद पाण्डेयलाई फोन गरी धाकधम्की दिई फिरौती बापतको रकम २ लाख माग  गरेको प्रहरीले जनाएको छ। उक्त रकम जम्मा गर्न भुषालले सिद्धार्थ डेभलपमेण्ट बैंक भैरहवामा आफ्नो फोटो टाँसी झुठो व्यहोराको कागजात पेश गरी विवेक थापाको नाममा खोलेको र खातामा पीडितहरुले पटक पटक गरी २ लाख २३ हजार रुपैयाँ जम्मा गरिदिएको तथा उक्त खाता खोल्न पेश गरिएको विवेक थापाको नामको नागरिकता पनेरुले भुषाललाई रुपन्देहीमा उपलब्ध गराइदिएका थिए।

                साथै घटनामा संलग्न भुषाललाई २०६८ बैशाख २१ गते प्रहरीले पक्राउ गरी मुद्दा दर्ता भएकोमा रुपन्देही जिल्ला अदालतबाट २ बर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना सँजाय ठहर भई सजाँय भुक्तान गरिसके पनि प्रतिवादी  पनेरु फरार रहेका थिए।

                फैसला कार्यान्वयनको लागि पनेरुलाई जिल्ला अदालत काठमाडौंको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ७ चैत्र २०७३ १३:१६ सोमबार

अपहरण तथा बन्धक मुद्दामा फरार पनेरु पक्राउ