समाज

केरुङबाट नेपालतर्फ मौलायो सुन तस्करी

नुवाकोट– 
● ६ केजी सुन सहित रसुवा टिमुरे–५ का २५ वर्षीय कुङजाङ तामाङ रसुवागढीबाट पक्राउ परे । शरीरमा सुनका पाता बाँधेर आइतबार चीनको केरुङबाट नेपालतर्फ आउँदै गरेका तामाङलाई सीमा नाका रसुवागढीबाट सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो । 
● केही दिनअघि ६५ हजार रुपैयाँको नक्कली बिल बनाएर सुन तस्करी गर्दैगर्दा रसुवाको धुन्चेस्थित नेपाली सेनाले चेक जाँचका क्रममा २२ तोला अवैध सुनसहित पाँच जनालाई पक्राउ ग¥यो ।
● चिनियाँ एजेन्ट र नेपाली व्यापारीबीच टेलिफोन कुराकानीको टेप रेकर्डका आधारमा रसुवागढी नाकाबाट पाँच महिनाअघि पनि ठूलो परिमाणमा सुन तस्करी भएको पत्ता लागेको थियो । तस्करी भएको पुष्टि भए पनि प्रहरी र भन्सार कार्यालयले पक्राउ गर्न सकेन ।
● गत वर्षको चैतमा पनि चेक जाँचका क्रममा मोटरसाइकलमा लुकाएको एक किलो सुनसहित दुई जनालाई सदरमुकाम धुन्चेस्थित लाङटाङ राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना नारायणदल गणका सुरक्षाकर्मीबाट रसुवाकै दुई व्यक्ति समातिए । 
भूकम्पका कारण सिन्धुपाल्चोकको तातोपानी नाका ठप्प भएपछि तस्कर रसुवाको रसुवागढी नाकातर्फ सोझिएको यी घटनाले पुष्टि गर्छन् । नेपाल, चीन र भारत जोड्ने त्रिदेशीय मार्गका रुपमा विस्तार भइरहेको सडकमा पर्ने रसुवागढी नाका हुँदै पछिल्लो समय सुन तस्करी बढेको छ । तस्करीमा पनि बढीजसो रसुवाकै बासिन्दा संलग्न हुने गरेको घटनाले देखाउँछ ।
तातोपानीको विकल्पमा रसुवागढी नाका सञ्चालनसँगै सुरुमा रक्तचन्दन र आखेटोपहार तस्करीमा संलग्न भएकालाई सुरक्षा निकायले पक्राउ गरेको भए पनि सुन तस्कर पक्राउ परेका थिएनन् । गत आइतबार बरामद ६ किलो सुन तस्करी उक्त नाकाबाट हालसम्मकै ठूलो तस्करी भएको रसुवाका प्रहरी प्रमुख डिएसपी अवदेश बिष्टको दाबी छ ।  
‘पछिल्लो समय सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएर चीनले रसुवागढी नाकालाई प्राथमिकता दिएर सञ्चालनमा ल्याएसँगै सुन तस्करीको दर यतातिर पनि बढ्दै गएको छ’, बिष्टले भने । 
लाङटाङ राष्ट्रिय निकुञ्जको क्षेत्रसमेत रहेको रसुवामा तीन तहको सुरक्षा व्यवस्था भएको उनले बताए । ‘सशस्त्र प्रहरीको आँखा छल्दा नेपाल प्रहरीले समात्छ, नेपाल प्रहरीबाट उम्किन खोजे निकुञ्ज सुरक्षार्थ नेपाली सेनाले समात्छ’, डिएसपी बिष्टले भने, ‘यसरी फरक–फरक तीन सुरक्षा घेरासमेत तोड्ने आँट तस्करले गर्छन् भने अझै कडाइका साथ निगरानी बढाउँछौं र कानुनी कारबाही गछौँ ।’ 
डिएसपी बिष्टले भनेजस्तै रसुवा जिल्लामा रसुवागढी नाकादेखि यता नुवाकोटसम्म मात्रै सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीका गरी १० सुरक्षा चेकपोस्ट पार गर्नुपर्छ ।
सशस्त्रका प्रहरी नायब उपरीक्षक दर्शन गिरी पनि ठूलो परिमाणमा सुन तस्करी पहिलो पटक भएको बताउँछन् । 
पक्राउ परेका तामाङलाई प्रहरीले राजस्व अनुसन्धान विभाग काठमाडौं पठाउने तयारी गरिरहेको छ । सुन ल्याएको छ भन्ने सुराकीको आधारमा चेक जाँच गर्दा शरीरमा बाँधेर ल्याएको अवस्थामा तामाङलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए । 
यो घटनापछि सशस्त्र प्रहरीले सीमा नाकामा कडाइ सुरु गरेको छ । यसअघि व्यक्तिलाई चेक जाँच नगर्ने गरिएकोमा अब भने व्यक्तिको शरीर र सामान सबै चेक जाँच सुरु गरिएको प्रहरीको भनाइ छ ।
यसअघि पनि सुन तस्करी गर्दैगर्दा रसुवाको धुन्चेस्थित नेपाली सेनाले चेक जाँचका क्रममा २२ तोला सुनसहित पाँच जनालाई पक्राउ गरेको थियो । ६५ हजार रुपैयाँको नक्कली बिल बनाएर सुन तस्करी गर्दैगर्दा नेपाली सेनाले बाग्लुङ गाविसका तेम्बा रिन्जेन गुरुङ, रामेछाप भिरपानीका शंकर खड्का, मकवानपुर मार्खुका गेन घलान, दोलखा डाँडाखर्कका प्रेमबहादुर मगर, भक्तपुर धौखेलका राजेन्द्र बजी र चालक दोलखा लाकुरीडाँडाका राजेश लामा पक्राउ परेका थिए ।
रसुवागढी नाकाबाट पाँच महिना अघि पनि ठूलो परिमाणमा सुन तस्करी भएको पत्ता लागेको थियो । सुन तस्करी भएको चिनियाँ एजेन्ट र नेपाली व्यापारी रसुवाका बाबु तामाङको फोन टेप रेकर्डको आधारमा पुष्टि भए पनि प्रहरी र भन्सार कार्यालयले पक्राउ गर्न सकेनन् । 
गत वर्षको चैत १४ गते चेक जाँचका क्रममा एक किलो सुनसहित दुई जनालाई धुन्चेस्थित लाङटाङ राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना नारायणदल गणका सुरक्षाकर्मीले पक्राउ गरेका थिए । सो समयमा रसुवा गोल्जुङ ५ का १६ वर्षीया सीता तामाङ र  १८ वर्षीया यार्साङ घले पक्राउ परेका थिए ।

 

प्रकाशित: ५ चैत्र २०७३ ०४:१२ शनिबार

केरुङबाट नेपालतर्फ मौलायो सुन तस्करी