रौतहटको गरुडा नगरपालिकाले मच्छर विरुद्धको अभियान सुरु गरेको छ।
अत्यधिक गर्मीसँगै बढेको लामखुट्टेको प्रकोपलाई कम गर्न गरुडा नगरपालिकाले मच्छर विरुद्धको अभियान सुरु गरेको हो। नगरपालिकाले सबै वडामा लामखुट्टे मार्ने औषधि छर्ने काम सुरुआतको गरेको छ।
नगरपालिकाले नगर स्तरीय बजेटबाट लामखुट्टे मार्ने औषधी छर्ने काम सुरु गरेको नगरप्रमुख कन्थमनी प्रसाद कलवारले जानकारी गराएका छन्। पहिलो दिन नगरपालिकाको वडा नम्बर १ जयनगरबाट औषधी छर्किने कार्य सुरु गरिएको नगर प्रमुख कलवारले जानकारी गराएका हुन्।
नगरप्रमुख जयसवालले जयनगरमा रहेको मदरसामा लामखुट्टे मार्ने ओैषधी छर्केर मच्छर विरुद्धको अभियान सुरु गरेका हुन्। नगरपालिकाको हरेक घरमा डेल्टामेथ्रिन नामक औषधी छर्ने अभियानको सुरुआत भएको कलवारले बताए।
औषधिले उडिरहेको लामखुट्टे नष्ट गर्न र घरभित्र रहेका लामखुट्टेहरुलाई नियन्त्रण गर्न सहयोग पुग्ने कलवारको भनाइ छ। लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरियाजस्ता घातक रोगको संक्रमण फैलन नदिन विषादी छर्न सुरु गरिएको उनको भनाइ छ।
लामखुट्टेको टोकाइबाट कीटजन्य रोग (औलो मलेरिया, डेंगू, जापनिज इन्सेफ्लाइटीस, चिकन गुनिया, हात्तीपाइले लगायत रोग लाग्ने गर्छ। कीटजन्य रोगबाट बच्ने प्रमुख उपाय नै लामखुट्टेको टोकाइबाट बच्नु हो।
गरुडामा दिउँसै पनि टोक्ने लामखुट्टेको बिगबिगी बढेको छ। मच्छरको समस्या अत्यधिक भएपछि नगरपालिकाले मच्छर मार्ने अभियान नै चलाएको हो।
गत वर्ष पनि गरुडा नगरपालिकाले मच्छर विरुद्धको अभियान संचालन गरेको थियो।
प्रकाशित: १० जेष्ठ २०८० १५:५९ बुधबार