समाज

सप्तरी घटनाका थप एक घाइतेको मृत्यु, मृतकको संख्या ५ पुग्यो

राजविराज– नेकपा एमालेको मेची–महाकाली अभियानअन्तर्गत गत सोमबार सप्तरीमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर घाइते भएका मध्ये थप एक जनाको शुक्रवार मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको जमुनी मधेपुरा–८ का इनर यादव रहेका छन्। 

यादवको उपचारका क्रममा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको मोर्चाका नेता एवम् राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डलले जानकारी गराएका छन्। गम्भीर घाइते रहेका यादव आइसियुमा रहेका थिए। 

यससँगै सप्तरी घटनामा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ। मृत्यु हुनेहरुमा सप्तरी मलेठ–२ का सञ्जन मेहता, वीरेन्द्र महतो, मलेठ–४ का पिताम्बर मण्डल र प्रसवन्नी–४ का आनन्द साह रहेका छन्।

मृतकहरको शव अझै धरानमै रहेको छ। शुक्रवार साँझसम्म उक्त शव राजविराज ल्याउने र शनिवार बिहान शव यात्रा पश्चात अन्तिम संस्कारका लागि परिवारको जिम्मा लगाउने मधेशी मोर्चा सप्तरीका संयोजक दिनेशकुमार यादवले जानकारी गराए। 

 

प्रकाशित: २७ फाल्गुन २०७३ ०९:४४ शुक्रबार

सप्तरी घटनाका घाइतेको मृत्यु मृतकको संख्या पुग्यो