समाज

सप्तरी चोथौ दिन पनि बन्द

राजविराज- प्रहरीको गोली लागेर सप्तरीमा चारजना मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले अह्वान गरेको अनिश्चितकालीन बन्द कार्यक्रमअन्तर्गत आज चौथो दिन पनि यहाँको जनजीवन प्रभावित भएको छ। 

मोर्चाको बन्दको कारण सप्तरी सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् भने पूर्व-पश्चिम राजमार्गको भारदह, कञ्चनपुर, कल्याणपुर र रुपनीलगायतका ठाउँमा यातायात ठप्प रहेको प्रहरीले जनाएको छ। 

राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डलका अनुसार प्रहरीको गोली लागेर चारजना मोर्चाको कार्यकर्ताको मृत्यु भएको र प्रहरीले दमन गरेको विरोधमा सप्तरी जिल्ला अनिश्चितकाल बन्द कार्यक्रमअन्तर्गत जिल्लामा यातायात, कलकारखाना, उद्योगधन्धा, शौक्षिक संस्थालगायत सबै आज पनि बन्द गराएको बताए। 

बन्द सफल गराउन आक्रोशित मधेसी मोर्चा कार्याकर्ता आज पनि बिहानैदेखि ठाउँ ठाउँमा प्रदर्शन गर्दै बन्द गराइरहेका बताइएको छ। नेकपा (एमाले)को मेची-महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा आयोजना गरिएको जनसभालाई बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सोमबार झडप भएको थियो। 

आज पनि राजविराजमा तनाव कायम रहेको छ भने मधेसी मोर्चाले नेकपा (एमाले)का नेता तथा कार्यकर्ताको घर तोडफोड गरेपछि सो पार्टीका कार्यकर्ता अत्यन्त भयभित भएको र कतिपय कार्यकर्ता पलायन भएको एमालेका कार्यकर्ताले बताएका छन्। उता प्रहरी सुरक्षालाई भने सुदृढ बनाइएको छ। रासस

प्रकाशित: २६ फाल्गुन २०७३ ०४:१० बिहीबार

सप्तरी चोथौ