समाज

टिपर गराउँछन् धेरै दुर्घटना

खिलक बुढाथोकी/हिमाल लम्साल

काठमाडौं- घटना १

फागनु १३ गते पेप्सीकोला जाँदै गरेको बा ३ ख ९१२० नम्बरको टिपरले बा ६९ प ४०३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सन्तोषसिंह कार्की गम्भीर घाइते भए।

घटना २

फागुन १२ गते बालाजुबाट लैनचौर जाँदै गरेको बा ३ ख ४५७९ नम्बरको टिपर बा १ ज ८८७३ नम्बरको ट्याक्सीमाथि पल्टिँदा २२ वर्षीय श्यामबहादुर प्रधान गम्भीर घाइते भए। त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भयो।

घटना ३

फागुन १ गते थानकोटबाट कलंकीतर्फ आउँदै गरेको बा ७८ प १४६९ नम्बरको मोटरसाइकललाई सोही दिशामा गुडिरहेको बा ३ ख ४५४५ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भयो।

घटना ४

माघ १८ गते बालाजुबाट स्वयम्भूतर्फ जाँदै गरेको बा ४७ प ८३१७ नम्बरको मोटरसाइकललाई सोही दिशामा गुडिरहेको बा ४ ख १६७० नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भए। उपचारका क्रममा उनको पिपुल्स अस्पताल नयाँबजारमा मृत्यु भयो।

घटना ५

माघ १२ गते भक्तपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ६९८३ नम्बरको टिपरले बा ७९ प ७०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भए।

उपत्यकामा माघ १२ देखि फागुन १३ गतेसम्म एक महिनामा टिपरले गराएका प्रमुख केही घटना हुन् यी। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सबै घटनाको प्रमुख कारण हो – टिपर चालकको लापरबाही। अधिकांश टिपर तीव्र गतिमा हुइँकाउँदा दुर्घटना भएको महाशाखाले जनाएको छ। यसको सिकार साना सवारी हुने गरेका छन्। ‘दुर्घटना अन्य सवारीमा पनि भइरहेका हुन्छन्,’ महाशाखाका डिएसपी सबिन प्रधानले भने, ‘टिपरको दुर्घटना भने बढी संवेदनशील हुन्छन्।’ टिपरले दुर्घटना गराएपछि कि त ज्यानै जान्छ, कि त गम्भीर घाइते हुने प्रधानले बताए।

‘टिपर दुर्घटनाको प्रमुख कारण चालकको लापरबाही देखिन्छ,’ महाशाखाकै एक उच्च अधिकारी भन्छन्, ‘तर सबै दोष चालकलाई थोपर्न मिल्दैन। सडकको  अवस्था, टिपरको बनावटले पनि दुर्घटनामा सहयोगी भूमिका खेलेका छन्।’ धेरै टिप गरेर बढी कमाउन चालकले टिपरलाई तीव्र गतिमा चलाएका कारण दुर्घटना बढेको अनुमान ट्राफिक प्रहरीको छ।

नेपाल टिपर तथा ट्रक व्यवसायी समितिका संस्थापक अध्यक्ष यादवलाल श्रेष्ठ अत्यधिक भारका कारण टिपर दुर्घटना भइरहेको बताउँछन्। 'उपत्यकामा निर्माण सामग्रीको अत्यधिक मागले गर्दा अधिकांश टिपरले मापदण्डभन्दा बढी लोड बोक्छन्,' श्रेष्ठले भने, 'ओभरलोडकै कारण उपत्यकामा दुर्घटना भइरहेका छन्।' समितिका अनुसार उपत्यकामा ६ हजारजति टिपर दर्ता छन्। यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले अनुगमन नगर्दा ६ चक्के टिपरले ७.५ घनमिटर लोड बोक्नुपर्नेमा १२ घनमिटरसम्म बोकिरहेका छन्। त्यस्तै १० चक्के टिपरले १० घनमिटर बोक्नुपर्नेमा २० घनमिटरसम्म बोक्ने गरेका छन्। 'बढी भार बोकेका सवारीको ब्रेकले काम गर्दैन। त्यसैले कहिलेकाहीं गम्भीर प्रकृतिको दुर्घटना हुन्छ',  श्रेष्ठले भने। श्रेष्ठले टिपर चालकलाई सवारी दुर्घटना न्यून गर्न अभिमुखीकरण सञ्चालन गर्न लागेको बताए।

चालक सुधि्रने हो भने उपत्यकामा हुने दुर्घटनामा ९० प्रतिशत कमी आउने महाशाखाका अधिकारी बताउँछन्।  टिपर अन्य सवारीको तुलनामा बलियो र ठूलो हुने भएकाले चालकले सामान्य ठोक्किँदा आफूलाई असर गर्दैन भन्दै बेतोड कुदाउने गरेका हुन्।

महाशाखाका डीएसपी प्रधान चालक सचेत रहेमा दुर्घटना कमी हुने बताउँछन्। ‘चालक सचेत रहेमा उपत्यकामा मात्रै नभएर देशैभर भइरहेको दुर्घटनामा कमी हुन्छ’, प्रधानले भने, ‘महाशाखा चालकलाई सचेत गराउन लागिपरेको छ।’ महाशाखाले केही वर्षयता चालक तथा व्यवसायीलाई सचेत गराउने कार्यक्रम गर्दै आएको छ। कार्यक्रम सञ्चालनपछि दुर्घटनामा कमी आए पनि दुर्घटना शून्य नभएको प्रधानले बताए। दुर्घटना शून्य हुन भने चालक सचेत रहनुपर्ने प्रधानको भनाइ छ।

महाशाखाको साउनदेखि माघसम्मको तथ्यांक हेर्दा उपत्यकामा टिपर र ट्रकले सात सय ८९ दुर्घटना गराएका छन्।

सात महिना अवधिमा उपत्यकामा कुल ३२ सय २८ दुर्घटना भएका छन्। ती दुर्घटनामा ५७ सय ५९ सवारीसाधन परेका छन्। महाशाखाका अनुसार दुर्घटना गराउनेमा अन्य सवारीको तुलनामा ट्रक तथा टिपर कम रहे पनि संवेदनशील दुर्घटनामा भने यी सवारी बढी छन्।

यस अवघिमा भएका दुर्घटनाबाट ९४ जनाको ज्यान गएको छ। एक सय १२ जना गम्भीर घाइते भएका छन्। २३ सय २५ सामान्य घाइते भएको तथ्यांक महाशाखामा छ।  तीन हजार ३९ दुर्घटनामा चालकको लापरबाही देखिन्छ। ९८ दुर्घटना मापसे र ४० दुर्घटना यान्त्रिक कारणले भएका छन्।

यस्तै गत आर्थिक वर्षमा उपत्यकामा पाँच हजार ६४ दुर्घटना भएका थिए। ती दुर्घटनाबाट एक सय ५२ जना मृत्यु, दुई सय ५५ जना गम्भीर घाइते र ३५ सय १९ जना सामान्य घाइते भएका थिए।

के छ सजाय

दुर्घटना गराउने चालकमाथि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ अनुसार कारबाही हुँदै आएको छ। कानुनमा सजायदेखि सर्वस्वसहित जन्मकैदको व्यवस्था भए पनि अधिकांश चालकलाई निश्चित जरिबाना गराएर ३५ दिन जेलमा राखी मुक्त गरिन्छ। ‘दुर्घटना गराउने चालकलाई कडा कानुनी प्रावधानले कारबाही नगर्दा दुर्घटना रोकिएको छैन’, यातायातको विकृतिविरुद्ध आवाज उठाउँदै आएका राम थापाले भने, ‘कडा कानुनी व्यवस्था नगर्ने हो भने सडक दुर्घटना रोकिने संकेत देखिन्न।’

प्रकाशित: २२ फाल्गुन २०७३ ०२:३७ आइतबार

टिपर गराउँछन् धेरै दुर्घटना