समाज

'निर्वाचनका बेला सञ्चारमाध्यम तटस्थ हुनुपर्छ'

काठमाडौं- निर्वाचनका बेला सञ्चारमाध्यम निष्पक्ष हुन नसकेको आरोप लाग्ने गर्छ। जापानी र नेपाली सञ्चारकर्मी, विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीले सोमबार भने निर्वाचनका बेला निष्पक्ष समाचार लेखन तथा प्रसारण विधिमाथि छलफल गरे।

जापानको सार्वजनिक सञ्चारमाध्यम एनएचकेका सञ्चारकर्मीले निर्वाचनलाई निष्पक्ष बनाउन प्रयोग गर्दै आएका विधिबारे छलफल गरे भने नेपाली सञ्चारकर्मीले निर्वाचनसम्बन्धी आफ्ना अनुभव सुनाएका थिए।

एनएचकेका पत्रकार मासाहारु एन्डोले नेपालको निर्वाचन निकै जटिल रहेको बताए। 'नेपालमा धेरै राजनीतिक दल राखेका छन्। जसलाई सन्तुलित ढंगले समाचार संकलन गर्न निकै चुनौतीपूर्ण छ,' उनले भने।

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले संयुक्त रुपमा कार्यक्रम गरेको कार्यक्रममा विभाग प्रमुख प्राध्यापक चिरञ्जीवी खनालले निर्वाचनसम्बन्धी समाचार संकलन र सम्प्रेषणमा सन्तुलित र वस्तुनिष्ठ हुनुपर्ने बताए। 'सीमित मिडियाले मात्रै निर्वाचनमा सन्तुलित समाचार सम्प्रेषण गरेका छन्,' उनले भने, 'अधिकांश मिडियाले निर्वाचन आचारसंहिता पालन नगरेको पाइएको छ। त्यसैले आचारसंहिता पालना गर्नेतर्फ अग्रसर हुनुपर्‍यो।'

जाइकाका वरिष्ठ सल्लाहकार डा. केइची हासिमोतोले निर्वाचनका बेला सञ्चारमाध्यम तटस्थ र निष्पक्ष हुनुपर्ने बताए। 'निर्वाचनका बेला राजनीतिक दलले मिडियालाई प्रचारप्रसार गर्ने हतियारको रुपमा प्रयोग गर्न खोज्छन्। त्यसैले मिडिया निकै सावधानी अपनाउनुपर्छ,' उनले भने, 'मिडियाले सत्यतथ्य समाचार सम्प्रेषण नगरे प्रजातन्त्र नै धराशयी हुने अवस्था आउँछ।' जापानी सञ्चारमाध्यमले निर्वाचनको समाचार संकलन गर्दा कानुनी मापदण्डसँगै आफ्नै छुट्टै आचारसंहिता अपनाएर तटस्थ सूचना तथा सामग्री जनतालाई सम्प्रेषण गर्दै आएको हासिमोतोले सुनाए।

त्रिभुवन विश्वविद्यालय मानविकी संकायका डिन डा. शिवलाल भुसालले एक वर्षभित्रै तीनवटा निर्वाचन हुन गइरहेकाले मिडिया र निर्वाचनसम्बन्धी बहस जरुरी रहेको बताए। विभागका सह–प्राध्यापक प्रबलराज पोखेरलले विभागले पत्रकारको क्षमता अभिवृद्धिका कार्यक्रम आवश्यक रहेको बताए।

नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलले नेपाली सञ्चारमाध्यम निर्वाचनबारे समाचार संकलनमा सजग हुँदै आएको बताए। '०४८ सालको निर्वाचनताका निर्वाचनसम्बन्धी समाचार एकपक्षीय आउँथ्यो,' उनले भने, 'विगत तुलनामा निर्वाचनसम्बन्धी रिपोर्टिङमा अहिले धेरै सुधार आइसकेको छ।' नेपाली सञ्चारमाध्यमले लामो समयदेखि प्रजातन्त्रका पक्षमा आवाज उठाउँदै आएको उनले बताए। 'अहिले निर्वाचनसम्बन्धी गतिविधि छाप्न मिडियाले पर्याप्त स्थान दिइरहेका छन्। यसले निर्वाचन प्रक्रियालाई प्रत्यक्ष सहयोग गरिरहेको छ,' उनले भने, 'सानाको तुलनामा ठूला राजनीतिक दलको कभरेज केही धेरै होला तर साना दललाई पनि उत्तिकै स्थान दिइरहेका छौँ।' ०४८ को निर्वाचनको तुलनामा नेपाली सञ्चारमाध्यममा धेरै सुधार आएको उनले बताए।

जापानी टेलिभिजनमा 'एक मिनेट' मात्रै

जापानका मिडियाले निर्वाचनका बेला हुने टेलिभिजन बहसमा राजनीतिक दलका एक नेतालाई 'एक मिनेट' समय मात्रै उपलब्ध गराउँछन्। जापानको चर्चित टेलिभिजन एनएचकेका प्रोग्राम प्रोड्युसर ताकाओ कोबायासी टेलिभिजन बहसलाई जनतामाझ विश्वसनीय र निष्पक्ष गराउनकै लागि एक मिनेट छुट्ट्याइएको अनुभव सुनाए।

'टेलिभिजन बहसमा एउटा राजनीतिक दलका वक्तालाई एक मिनेटभन्दा धेरै समय बोल्न दिँदैनौँ,' उनले भने, 'एक मिनेटभन्दा धेरै बोल्न खोज्ने वक्ताको माइक्रोफोन नै बन्द गरिदिन्छौँ। टेलिभिजनले समय गणना गर्ने छुट्टै स्टुडियोकै व्यवस्था गरेको छ।'

उनले आजभोलि राजनीतिक दलका नेताले समेत उक्त नियम सहजै पालना गर्दै आएको बताए। 'प्रत्येक वक्ताले कतिपटक बोले वा कतिपटक टिप्पणी गरे भन्ने गणना गर्दै कार्यक्रम सञ्चालकलाई खबर गरिन्छ,' उनले भने।

एनएचकेले टेलिभिजन बहसमा ठूलादेखि साना दललाई उत्तिकै प्राथमिकता दिने गर्छ। सबैभन्दा ठूलो राजनीतिक दललाई 'ए' वर्गमा राखेर १५ पटक बोल्ने मौका प्रदान गर्छ। दोस्रो राजनीतिक दललाई 'बी' वर्गमा राखी १३ पटक बोल्ने अवसर दिने गरेको छ। 'डी' मा पर्ने पार्टीलाई ६ पटक बोल्ने मौका दिइन्छ।

जापानमा दैवीप्रकोपको र निर्वाचनका लागि भन्दै स्थायी रुपमा पत्रकारको टिमको व्यवस्थापन गरिने एनएचकेका पत्रकार मासाहारु एन्डोले जानकारी दिए।

प्रकाशित: २५ माघ २०७३ ०३:१६ मंगलबार

निर्वाचनका बेला सञ्चारमाध्यम तटस्थ हुनुपर्छ