खोटाङ- खोटाङको च्यास्मीटार-४ पाहुरीपाखाका नवलसिं राईले पालेको गाईले पाँच खुट्टा भएको बाच्छो पाएको छ। गाईले अगाडिको दायाँ खुट्टाको टुप्पामा जोर खुर भएको बाच्छो व्याएपछि अनौठो मान्ने र हेर्न आउनेको भीड लागेको छ।
खेतीपाती र ज्याला मजदुरीको काम गर्दै आएका राईको गाईले माघ १९ गते बिहान ९ बजे पाँच खुट्टा भएको बाच्छो व्याएको हो। पहिलो बेतमा जन्मिएको बाच्छोको जोर हाड जोडिएको भए पनि खुर भने छुट्टै देखिन्छ।
खैरो रङको बाच्छोको खुट्टाको टुप्पामा करिब २/२ इन्च लामो दुई वटा खुर रहेको स्थानीय मिलन राईले बताए। स्वस्थ भए पनि बाच्छाले जोर खुर भएको खुट्टाले टेक्न सक्दैन। सो खुट्टा खुम्चिएकाले अन्य तीन वटा खुट्टाले मात्र टेकेर उभिने गरेको छ। अस्वभाविक खुट्टा भएको बाच्छोको विषयमा गाउँमा चासो र चर्चा भइरहेको छ।
प्रकाशित: २३ माघ २०७३ ०६:१४ आइतबार