समाज

बदलिँदै सुखड बजार

सहरीकरणपछि बदलिएको सुखड क्षेत्र। तस्बिरः नागरिक

एक दशक अगाडिसम्म साना खोका छाप्रासहितको स्थानीय बजारको रुपमा चिनिएको सुखड बजार पछिल्लो समय बदलिएर सहररुपमा आफूलाई चिनाउन थालेको छ।

कर्कटपाताका छाप्रे होटेल तथा दैनिक उपभोग्य सामानका लागि थोरै पसल रहेको स्थानीय सुखड बजार बदलिएर ठूलठूला होटेल तथा होलसेल पसल, उद्योगहरु एकपछि अर्को गर्दै खुल्न थालेका छन्। साना एक तले घर पनि अहिले गगनचुम्बी महलमा उठेका छन्। पछिल्लो समयमा धमाधम नयाँ घर थपिने क्रम पनि बढ्दै गएको छ। तसर्थ सुखड बजार अब बजारमा सीमित नभई ठूलो सहरमा परिणत भएको छ।

थोरै पसल र कम जनघनत्व भएको सुखडमा पछिल्ला साविकको गाविसलाई नगरपालिका घोषणा गरेपश्चात् अर्थात ६ वर्ष यता सोचेभन्दा बढी व्यापारिक प्रतिष्ठान, कलकारखाना, होटेल तथा पसलहरु खुल्न थालेको सुखडका व्यवसायी तथा रुपेश होटेल एण्ड लजका सञ्चालक गणेश बिष्टले बताए। उनले भने,‘अहिले त यहाँ धेरै होटेल व्यवासय मात्रै हैन ठूल–ठूला होलसेल पसल पनि खुलेका छन्।’ नगरपालिकाको सदरमुकाम सुखडमै हुनु र इलाका प्रशासन कार्यालय पनि यहीँ हुनुले बजारबाट सहर बन्नुको कारण खुलाउँदै उनले भने,‘माथिको मोहन्याल गाउँपालिकादेखि तलको भजनी नगरपालिकासम्म जानका लागि मुख्य सडक सञ्जालसँग पनि सुखड जोडिनु नै यहाँको सहरीकरणको मुख्य कारण हो।’ पहिले दरख गाविसको मात्रै स्थानीय बजार रहेको सुखड बजारमा नगरपालिका हुनलाई साविकको साडेपानी गाविस, पहलमानपुर गाविस रामसिखझाला गाविस मिलेर घोडाघोडी नगरपालिका बनेको बताउँदै उनले भने,‘यी सबै साविकका गाविस मिलेर बनेको नगरपालिकाको सदरमुकाम सुखड बनेपछि नै यहाँको बजार सहरमा परिणत भएको हो।’

घोडाघोडी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गाप्रसाद गौतमले कैलालीको चिसापानीदेखि अत्तरियासम्मको पूर्व–पश्चिम राजमार्गको प्रमुख सहरमा चिनिएको अत्तरिया र लम्कीपछि ठूलो सहरका रुपमा सुखड परिणत भएको भएको बताए। उनले भने,‘यहाँ ठूलठूला होलसेल पसलदेखि होटेलहरु पनि खुलेका छन्।’ अघिल्ला वर्षहरुमा कुनै सभा सम्मलेन तथा गोष्ठी गर्नु परेमा राम्रा होटेल नभएको बताउँदै उनले भने,‘पछिल्ला वर्षहरुमा यहाँ सम्मेलन तथा गोष्ठीहरु गर्नका लागि हलसहितका ठूला होटेलहरु निर्माण भएका छन्।’ यतिमात्रै नभई संघमा दर्ता भएका र नभएका सबै गरेर सुखड बजारमा मात्रै करिब ३ हजार भन्दा बढी उद्योगी, व्यापारी रहेको उनले बताए।

सुखड बजार आसपासका ग्रामीण क्षेत्रमा पुराना कच्ची घर भएकाहरुले पनि बसोबासका लागि पक्की घर निर्माण गर्ने तथा गाउँको जग्गा जमिन बेचेर बजार क्षेत्रमा भवन निर्माण गर्ने क्रम पनि बढेको स्थानीय पत्रकार वीरेन्द्र शाह बताउँछन्। सुखड क्षेत्रमा सहरीकरण बढ्न थालेपछि यहाँ अहिले जग्गाका कारोबार पनि बढेको उनी बताउँछन्। सुखडमा व्यापार व्यवसायका लागि पसल तथा होटेल मात्रै नभई त्यत्तिकै मात्रामा अस्पताल तथा मेडिकलहरु पनि खुल्ने क्रम बढेको छ। बढी जनघनत्व भएको र पहाडी गाउँपालिका मोहन्यालसँग सिधै यातायात तथा पैदल यात्राको सम्पर्क भएकाले पनि यहाँ निजी लगानीमा ठूला अस्पताल तथा मेडिकल पनि खुल्ने क्रम बढेको उनी बताउँछन्।  

घोडाघोडी तालको प्रचार प्रसार हुनुका साथै सुदूरपश्चिममा सहज रुपमा आवतजावत हुने तराई क्षेत्रकै प्रमुख पर्यटकीय क्षेत्रका रुपमा रहेकाले पनि सुखड क्षेत्रमा सहरीकरण बढेको उनको ठम्याई छ। ‘सुदूरपश्चिमकै प्रमुख पर्यटकी क्षेत्रका रुपमा गनिने घोडाघोडी ताल क्षेत्र पनि सुखडमै पर्छ,’ उनले भने,‘घोडाघोडी ताल क्षेत्रको अध्ययन अवलोकन तथा मन भुलाउनका लागि पनि दैनिक हजारौं आन्तरिक तथा बाह्य पर्यटकहरु एकछिन भए पनि रोकिन्छन्। जसले गर्दा यहाँको चहल पहल बढेको छ।’ पर्या पर्यटनका साथै घोडाघोडी क्याम्पस स्थापना पनि यहाँको विकासको मेरुदण्ड भएको उनले बताए।

पहाडी क्षेत्र मोहन्याल गाउँपालिकाका अधिकांश बासिन्दाले आफ्ना नानी बाबुलाई उच्च शिक्षा अध्ययनका लागि सुखडमा रहेका तीन वटा कलेजमा भर्ना गर्ने गरेका छन्। जसले गर्दा पनि सुखड क्षेत्र पछिल्लो समयमा शैक्षिक हबका रुपमा परिचित हुँदै गएको पत्रकार शाह बताउँछन्। सुखडलाई अझ व्यवस्थित र बजारीकरणमा टेवा पुगाउनका लागि घोडाघोडी नगरपालिकाले मोहन्याल गाउँपालिकासँगको सिधा सम्पर्क बढाउनका लागि सुखड–सिमली मार्गको स्तरोन्नति गर्नुका साथै यातायातका साधन सञ्चालन गर्नुपर्नेमा उनको जोड छ।

प्रकाशित: १५ वैशाख २०८० १२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App