समाज

१६ वर्षमा पूर्णिकालाई नागरिकता

काठमाडौं- पूर्वयुवराज पारस शाहकी छोरी पूर्णिका शाहले नागरिकता लिँदै गरेको तस्बिर अहिले समाजिक सञ्जालमा भाइरल बनेको छ। पूर्वयुवराज्ञी हिमानी शाहसमेत उपस्थित भएको तस्बिर सामाजिक सञ्जालमा चर्चा पाएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेकी पूर्णिका शाहले सोमबार नागरिकता प्राप्तिको प्रक्रिया अगाडि बढाएकी थिइन्। गत पुस १ बाट १६ वर्षमा प्रवेश गरेकी उनी नागरिकता लिन सहयोगीसहित बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय काठमाडौं गएकी थिइन्।

‘पूर्वराजपरिवारका सदस्य जिल्ला प्रशासन कार्यालयमा आफैं उपस्थित भएर नागरिकता लिएको यो पहिलोपटक हो।'

‘आम नागरिकसरह सोमबार बिहान कागजात बोकेर उहाँ (पूर्णिका) नागरिकता लिन जिल्ला प्रशासन कार्यलय आउनुभएको थियो। सबै प्रक्रिया पुर्‍याएर वशंजको आधारमा नागरिकता दियौं,' काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हिमनाथ दवाडीले भने।

पूर्वयुवराज्ञी तथा पुर्णिकाकी आमा हिमानी शाह ढिलो गरी जिल्ला प्रशासन पुगेकी थिइन्। 'अभिभावकको उपस्थिति पनि चाहिने भएकाले पूर्वयुवराज्ञी हिमानी शाह १५ मिनेटको लागि आउनुभयो,’  प्रजिअ दवाडीले नागरिकन्युजसँग भने। 

पूर्वराजपरिवारका सदस्य जिल्ला प्रशासन कार्यलय पुगेर नागरिकता लिएको यो पहिलो घटना हो।

‘पूर्वराजपरिवारका सदस्य जिल्ला प्रशासन कार्यालयमा आफैं उपस्थित भएर नागरिकता लिएको यो पहिलोपटक होला। यसअघि राजपरिवारका सदस्यहरुले नागरिकता लिन फाराम भरेर सहयोगीमार्फत् कागजात जिल्ला प्रशासन कार्यलयमा पठाउने गरेका थिए,’ प्रमुख जिल्ला अधिकारी दवाडीले भने।

वंशजको आधारमा लिएको नागरिकता बुबा पारस शाह र आमा हिमानी शाहको नाम उल्लेख छ।

प्रकाशित: १८ माघ २०७३ ०६:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App