समाज

वसन्तपुर क्षेत्रको ९५ प्रतिशत फुटपाथ पसल हट्यो

काठमाडौं- विश्व सम्पदामा सूचीकृत काठमाडौं दरबार क्षेत्र वसन्तपुर परिसरका सडक तीन महिनाअघि हिँडिसक्नु थिएनन्। कपडा, तरकारी, फलफुल लगायत पसलले फुटपाथ ढपक्कै ढाकेका हुन्थे। भित्री सहरका साँघुरा सडक पदैलयात्री र सवारीसाधनले भरिन्थे।

अहिले यो क्षेत्रका फुटपाथ खुला भएका छन्। काठमाडौं महानगरपालिका, स्थानीय संघसंस्था, सामुदायिक प्रहरी लगायतको प्रयासपछि भित्री सहरका फुटपाथमा राखिने पसल ९५ प्रतिशत हटेका छन्।

भित्री सहरका वसन्तपुर, हनुमानढोका, मख्खनटोल, इन्›चोक, जनबहाल, बालकुमारी, असन, कमलाक्षी, भोटाहिटी, जमललगायत क्षेत्रमा अहिले कतै पनि फुटपाथ पसल नभएको महानगरपालिका अन्तर्गत नगरप्रहरी महाशाखा प्रमुख विष्णु जोशीले बताए।

‘हामीले मात्रै हटाउन सकेका थिएनौँ,’ जोशीले भने, ‘स्थानीय र सामुदायिक प्रहरीको साथ पाएपछि सफल भयौँ।’ एकपटक सफल भएर मात्रै नहुने र यसलाई निरन्तरता दिन नसके फेरि पनि फुटपाथ पसलले सडक भरिने उनको भनाइ छ।

सोमबार वसन्तपुर क्षेत्रमा बसेको सरोकारवालाको समीक्षा बैठकले फुटपाथ हटाउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गरेको छ।

यता, महानगरपालिका हनुमानढोका संरक्षण कार्यक्रम प्रमुख उदय पसःखलले पनि फुटपाथ हटाउने जिम्मेवारी आफूहरुको भए पनि पूरा गर्न नसकेको स्विकारे।

‘केही कमजोरीका कारण जिम्मेवारी पूरा गर्न सकेका थिएनौं,’ उनले भने, ‘स्थानीयको साथ पाएपछि सफल भएका छौं। यसले सरकारी निकायभन्दा पनि स्थानीयको साथले सफलता मिल्ने देखाएको छ।’

पसःखलले यसको निरन्तरताका लागि सधैँ साथ दिन कान्तिपुर विकास समितिलाई आग्रह गरेका छन्। फुटपाथ हटाउने अभियानमा स्थानीय तहमा टोल सुधार गर्न बनेका विभिन्न ४३ संघसंस्था एकीकृत भएका छन्। कान्तिपुर विकास समिति नाम दिएर एकीकृत संस्थाको छाता संस्था बनाइएको छ। 'भित्री सहरको विकास र महŒव जोगाउन हामी निरन्तर लाग्ने छौंं,' समिति प्रवक्ता गणपतिलाल श्रेष्ठले भने, 'स्थानीयको उपस्थितबिना केही काम नहुने देखियो।’ स्थानीयबिना भएका काम दिगो नहुने उनले बताए।

यसअघि महानगरपालिकाले फुटपाथ पटकपटक हटाउने कोसिस गरे पनि नसकेको तर स्थानीयको सहभागितापछि हटाउन सफल भएको श्रेष्ठले बताए।

प्रकाशित: १८ माघ २०७३ ०३:४२ मंगलबार

वसन्तपुर क्षेत्रको ९५ प्रतिशत फुटपाथ पसल हट्यो