समाज

त्रिविका प्राध्यापकद्वारा कपी जाँचको फेसबुक लाइभ

काठमाडौं- परीक्षाको गोपनियता भंग गर्दै त्रिभुवन विश्वविद्यालयका एक प्राध्यपकले विद्यार्थीको कपी जाँच गर्दै गरेका लाइभ तस्विर शृङ्खलाबद्ध रुपमा फेसबुकबाट सार्वजनिक गरेका छन्। शुक्रबार बिहान कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, पशु विज्ञान (भेटनरी) अन्तर्गतको स्नातक तहको प्रवेश परीक्षा भएको थियो।

कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा कार्यरत प्राध्यापक श्याम सुन्दर पन्तले बिहान ९ बजे नै प्रवेश परीक्षाको कपी जाँच गर्न जाँदैछु भन्ने पोष्ट गरेर सूचना चुहाएका थिए। त्यसको ८ घन्टापछि फेरि उनले स्थान नै उल्लेख गरेर कपी जाँच गर्दै गरेका ७ फोटा फेसबुकमा पोष्ट गरे। ‘प्रवेश परीक्षा (बीभीएस्सी) को कपि जाँच्दै गर्दा’, कपी जाँच गर्दै गरेका फोटाहरु राखेर उनले पोष्ट गरेका छन्।

शुक्रबार नै परीक्षाफल सार्वजनिक गर्नुपर्ने भएकाले परीक्षा सकिए लगत्तै कापी जाँच गर्नको लागि प्राध्यपकहरुलाई तयार राखिएका थिए। बिहान ११ बजेदेखि परीक्षा सुरु भएको थियो। पशु विज्ञान (भेटनरी) मा भर्ना पाउन चर्को प्रतिस्पर्धा हुनेगर्छ। ४८ सिटका लागि भएको प्रवेश परीक्षामा १ हजार ३७७ सहभागी थिए।

उनले चुहाएको सूचनाअनुसार ललितपुरको सिद्धार्थ कटेजमा परीक्षाको कपी जाँच भएको थियो।

जाँचकीले सूचना चुहाउँदा अनियमितताको सम्भावना रहने भन्दै प्राध्यापक पन्तका फेसबुक साथीहरुले चिन्ता जनाएका थिए। ‘सर हामी आइएएस पूर्व विद्यार्थी हौैं। कृपया तपाइँ आफ्नो पदको सम्मान राख्नुहोस् र प्रवेश परीक्षाको गोपनियता कायम गर्नुहोस्’, राजन लम्सालले उनको स्ट्याटसमा कमेन्ट गर्दै लेखेका छन्।

प्रमोद पन्तले कमेन्ट गर्दै भनेका छन्, ‘यस्ता प्राध्यापकबाट हामीले के सिक्न सक्छौं ? एक जना आइएएस पूर्व विद्यार्थीको रुपमा म यो कुराको भत्र्सना गर्दै परीक्षालाई गम्भीर विषयको रुपमा लिन आग्रह गर्दछु।’

त्रिभुवन विश्वविद्यालयको परीक्षा आचार संहिताअनुसार यो कार्य प्राज्ञिक अपराध हो।

‘यो परीक्षाको इथिक्सविरुद्धको कुरा हो। त्रिवि सेवा आयोगले कस्तो मान्छेलाई प्राध्यापक बनाएको हो। ती प्राध्यापकको हैसियतमाथि यसले गम्भीर प्रश्न उठाइ दिएको छ’, विश्वविद्यालयका एक प्राध्यापकले भने।

कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, पशु विज्ञान (भेटनरी)ले प्रवेश परीक्षाको परीक्षाफल शुक्रबार राति नै सार्वजनिक गरेको छ।

प्राध्यापक पन्तले फेसबुकमा आएका नकारात्मक कमेन्टलाई शनिबार बिहान डिलिट गरिदिएका छन्। आफ्नो प्रशंसा गरेको एउटा कमेन्ट भने जस्ताको त्यस्तै छोडिएको छ। उनले परीक्षाको कपीजाँच ‘ओपन सेक्रेट’ भएको बताए। ‘यो विश्वविद्यालयको फाइनल परीक्षा होइन साथीहरुले कुरा नबुझेर चिन्ता व्यक्त गर्नु भयो’, उनले भने।

कृषि तथा पशु विज्ञान संस्थान अन्तर्गत कृषितर्फ स्नातक तहको प्रवेश परीक्षा आज शनिबार हुँदैछ। 

प्रकाशित: ८ माघ २०७३ ०३:१६ शनिबार

त्रिविका प्राध्यापकद्वारा कपी जाँचको फेसबुक लाइभ