समाज

सिंगो बस्ती व्यक्तिलाई नामसारी

रौतहट- सरकारी कर्मचारी र भूमाफिया मिलेर सिंगै बस्ती रहेको करिब ४ बिघा जग्गा व्यक्तिका नाममा नामसारी गराएका छन्। वर्षौंदेखि उपभोग गरिरहेको घरघडेरी खाली गर्नुपर्‍यो भन्दै अपरिचित व्यक्तिले दिनहुँ धम्क्याउन थालेपछि सिंगै गाउँ त्रस्त छ।

भूमाफियाले नक्कली कागजात बनाई लक्ष्मिनिया–२, विजयपुरको जग्गा अर्कैको नाममा नामसारी गरेका हुन् जसमा एउटा बस्ती नै छ।

विजयपुरको कित्ता नम्बर १०८ र २४६ को १ बिघा ९ कठा १३ धुर जग्गा भूमाफियाले कर्मचारीसँग मिलेमतोमा नवलकिशोर राय यादवको नाममा पास गराएका हुन्। बस्तीसहितको २ बिघा ८ कट्ठा जग्गा भने जिल्ला प्रशासनले तत्कालका लागि रोक्का गरेको छ।

उता, दिनहुँ बस्तीसहितको सिंगो गाउँ खाली गर्न, नत्र डोजर लगाएर भत्काउने धम्की आउन थालेपछि स्थानीय गुहार माग्न जिल्ला प्रशासन कार्यालय रौतहट पुगेका छन्।

२०३६ सालमा जिल्लाकै फतुवा–हर्षाहा गाउँका ८७ घरधुरी बाढीपीडितलाई तत्कालीन जिल्ला पञ्चायतले विजयपुरमा बसाएको थियो। भारत, कोलकाताका जयन्तकृष्ण मैत्रका नाममा रहेको हदबन्दीभन्दा बढी जग्गा राष्ट्रियकरण गरी तत्कालीन सरकारले बाढीपीडितलाई उपलब्ध गराएको थियो।

बाढीपीडितलाई सधैंका लागि पुनर्वास गरिए पनि भूमाफियाको चलखेलमा आफ्नो बिचल्ली भएको स्थानीयले बताए । मैत्रका नाममा नक्कली वारेस खडा गरेर उक्त जग्गा बिक्री गरेको पत्ता लागेको छ। पढाउने काम गर्न नेपाल आएका मैत्रले विभिन्न ठाउँमा २८ बिघाभन्दा बढी जग्गा आफ्नो नाममा जोडेका थिए।

मैत्रले पर्सा जिल्लाबाट लिएको नेपाली नागरिकताको प्रमाणपत्रसमेत नक्कली रहेको पाइएको छ। मैत्रका नाममा पर्सा जिल्लाबाट जारी रहेको भनिएको प्रमाणपत्र नम्बर १६०३०३३१४ को नागरिकता दुर्गाकुमारी ठकुरीका नाममा रहेको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ। मैत्रका पिताको नाम गोपालकृष्ण मैत्र तथा वीरगन्ज–५ पर्सा लेखिएको ठेगानासमेत नक्कली भएको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ।

मैत्रको नक्कली नागरिकताका आधारमा अदालतबाट नक्कली वारेसनामा बनाई भूमाफियाले गाविस, नापी कार्यालयको नक्कली छाप र लेटरप्याड प्रयोग गरेको देखिएको छ। मैत्रका नाममा रहेको जग्गाको किर्ते कागजको आधारमा भूमाफियाले नक्कली वारेसनामा खडा गरेका छन्। काठमाडौं जिल्ला अदालतको अधिकृत वारेसनामाका आधारमा सिंगो बस्ती फतुवा हर्षाहा–४ का नवलकिशोर राय यादवका नाममा पास गरेको खुलेको छ। 

भूमाफियाले गाविस लक्ष्मिनिया दोस्तियाको नक्कली लेटरप्याड र सरकारी छापसमेत बनाएर आफैंले घरबाटो प्रमाणित गरेर जिल्ला मालपोत कार्यालयका नाममा पत्र काटेको समेत खुलेको छ।

२०७३ मंसिर ३ मा मालपोत कार्यालय, रौतहटलाई लेखिएको पत्रको चलानी नं ३२३ मा घरबाटो प्रमाणित सम्बन्धी कुनै पत्र नकाटिएको गाविसको कार्यालय लक्ष्मिनिया दोस्तियाले जनाएको छ। सरकारी कागजको किर्ते र छापको किर्तेले सिंगो बस्ती नै अर्काको हुन पुगेको स्थानीय लक्ष्मी साह बताउँछन्।

सरकारले तत्काल सुनुवाइ नगरे सामूहिक आत्महत्या गर्ने स्थानीयले  चेतावनी दिएका छन्। सामुदायिक विद्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको कार्यालयसमेतको जग्गा भूमाफियाले आफ्नै नाममा पास गराउन थालेको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा भूमिसुधार कार्यालय लिखित उजुरी दिएका छन्।

जिल्ला मालपोत कार्यालय, रौतहटका निमित्त प्रमुख चन्द्रबहादुर भण्डारीले विजयपुरको बस्ती रहेको २ बिघा ८ कट्ठा जग्गा प्रमुख जिल्ला अधिकारीको आदेशमा रोक्का गरिएको बताए तर दुई कित्ता जग्गा भने काठमाडौं जिल्ला अदालतको वारेसनामाकै आधारमा नवलकिशोर राय यादवको नाममा पास गरिएको छ।

मालपोतका निमित्तप्रमुख भण्डारीले अदालतसँग पत्राचार गरेर निर्णयको बेहोरासमेत माग गरेको र काठमाडौं जिल्ला अदालतले उक्त बेहोराको अधिकृत वारेसनामा पठाएपछि पत्रकै आधारमा जग्गा व्यक्तिका नाममा पास गरेकाले आफूहरूको कुनै बदनियत नभएको बताए।

मैत्रको नक्कली नागरिकता र गाविसको सिफारिसका बारेमा मालपोत कार्यालयलाई जानकारी नभएको उनको भनाइ छ।

जिल्ला वन कार्यालयको १ सय ६ बिघा जग्गा भूमाफियाले आफ्नो नाममा पास गरेको मुद्दा सेलाउन नपाउँदै सिंगो बस्ती व्यक्तिका नाममा पास गराएको  घटनाले भूमाफियाको जालसाजी उदांग भएको छ। राज्यले यस किसिमको जमिन खोजतलास गर्नु जरुरी रहेको नागरिक समाजका विजयकिशोर झा बताउँछन्।

 

प्रकाशित: ४ माघ २०७३ ०२:०२ मंगलबार

सिंगो बस्ती व्यक्तिलाई नामसारी