समाज

‘डढेलो लाग्नु र वर्षा नहुनु प्रदुषणको मुख्य कारण’

वातावरण विभागले जंगलमा लागेको डढेलोका कारण वायु प्रदुषण बढेको बताएको छ।

वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले डढेलोका कारण नै देशभरको प्रदुषणको मात्रा बढेको बताएका हुन्। उनले पानी नपर्दा र हावा वहन नसक्दा प्रदुषण एकै ठाउँमा थुप्रिएको उल्लेख गरे।

स्याटलाइट इमेज हेर्दा काठमाडौं उपत्यकामा बारा, पर्सा र चितवनबाट निस्किएको धुवाँका कारण प्रदुषण बढेको उनले बताए।

उनले बारा, पर्सा र चितवनबाट वागमती करिडोर हुँदै काठमाडौंमा आएको हावा अन्यत्र वहन नसक्दा काठमाडौं उपत्यकामा प्रदुषणको मात्रा बढेको बताए।

उनले काठमाडौं प्रदुषणको पहिलो नम्बरमा पर्‍यो जस्ता समाचारहरु सञ्चारमाध्यममा आइरहेको तर त्यसले ठूलो फरक नपार्ने बताए। प्रदुषणको पहिलो, दोस्रो नम्बरमा पर्‍यो भन्नेकुरा प्रचारबाजीको विषयवस्तुमात्रै भएको उनको भनाइ थियो।

उनले भने, ‘वायुप्रदुषण यो समय देशभर नै बढीरहेको छ। वर्षाको सिजनमा पानी परिरहेकाले धेरै कम हुन्छ र हिउँद लाग्दै गर्दा बिस्तारै बढ्दै जान्छ, यसबेला पानी कम पर्ने र हावा पनि कम बहनाले बढ्छ र डढेलेको सिजनमा फेरि वायुप्रदुषण बढ्छ। अहिले वायु प्रदुषण बढेको डढेलोको कारणले हो। स्याटलाइट इमेजबाट हेर्दा बारा, पर्सा र चितवनमा अलि बढी नै तुवाँलो निस्किरहेको छ। त्यो प्रदुषण वागमती करिडोरबाट काठमाडौं प्रवेश गरेको हो। त्यसले नै काठमाडौंमा अहिले तुवाँलोको समस्या छ। हावा पनि एकदम कम चलिरहेको छ। पानी पनि नपरिरहेको भएर यो समस्या आएको हो। विश्वकै एक नम्बरमा छ, भन्ने चाहीँ महत्व हुँदैन। प्रदुषणको स्तर धेरै हुँदा पनि हामी २० नम्बरतिर हुनसक्छौँ फेरि कहिले काहीँ कम नै छ भनेपनि पहिलो हुनसक्छौँ। यो तुलनात्मक अध्ययनमा भर पर्ने कुरा हो। पहिलो, दोस्रो हुने भनेको फेसबुकमा प्रचार गर्नका लागि हो, त्यसले सकारात्मक सन्देश दिन्छ की दिँदैन भन्ने मतलव नराखीकन गरेका प्रचारबाजी हो। नम्बरमा अर्थ राख्दैन तर काठमाडौंको वायुप्रदुषण बिग्रिएको छ। अहिलेको प्रदुषण डढेलोको कारण हो। अरु वर्षको तुलनामा यो हिउँदमा पानी पनि एकदम कम परेको छ। त्यसले पनि समस्या पारेको छ। अहिलेको अवस्थामा रेड कलरमा काठमाडौं उपत्यकाको प्रदुषण छ। त्यो भनेको सेन्सेटिभ मानिसहरु सकेसम्म घरबाट बाहिर ननिस्किने र हामी पनि शतर्क हुनुपर्छ। अहिलेको समयमा मास्कको प्रयोग गर्नुपर्छ।’

प्रवक्ता पौडेलले प्रदुषणको मात्रा बढेकाले सबैले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, थप शतर्कता अपनाउनुपर्ने र सकेसम्म घरबाहिर निस्किन नहुने बताए।

यो पनि पढ्नुहोस्

वातावरण प्रदुषणको परिणाम हाे : माैसमविद्

प्रकाशित: ३ वैशाख २०८० १०:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App