समाज

आचार्य समुहका नाइके लक्ष्मीप्रसाद पक्राउ

काठमाडौं–प्रहरीले नेपाल बैंक लिमिटेड भ्रष्टाचार प्रकरणमा कमसल जग्गा देखाएर श्रृण लिने आचार्य समुहका नाईके लक्ष्मी प्रसाद आचार्यलाई पक्रेको छ। महानगरीय अपराध महाशाखाको टोलीले १० करोड  ५४ लाख रुपैयाँ भन्दा बढि रकम जरिवाना नतिरी फरार रहेका लक्ष्मीप्रसाद आचार्यलाई पक्रेको हो ।

बिशेष अदालतले २०६२ कात्तिक १३ गते फैसला गर्दै आचार्यलाई उक्त रकम जरिवानाको फैसला सुनाएको हो ।

सर्वोच्च अदालतले नेपाल बै‌क लिमिटेडमा ऋण प्रवाहमा भएको भ्रष्टाचार सम्बन्धी मुद्दाको १५ वर्षपछि मंसिरमा फैसला गरेको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा फैसला भएको हो ।

सर्वोच्चले  ऋण दिदा घोटाला गरेको भन्दै नेपाल बैंक लिमिटेडका तत्कालिन नायव महाप्रवन्धक शेरबहादुर थापा, सञ्चालक समिति र कर्मचारी सहित एकसय ५५ जनालाई आरोपी बनाएर दर्ता भएको मुद्दामा फैसला गरेको हो ।

सर्वोच्चका न्यायाधीश विश्वम्भर श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलासले कार्तिक २२ मा मुद्दाका सबै प्रतिवादीलाई भ्रष्टाचार गरेको ठहर गर्दै फैसला सुनाएको थियो ।बिशेष अदालतले २०६२ कात्तिक १३ मा गरेको फैसलालाई सर्वोच्चले सदर गरेको हो।

अख्तियारले २०५८  फागुनमा तत्कालिन नायव महाप्रवन्धक थापालाई  नक्कली ऋणी र उद्योग खडा गरि मिलमतोमा श्रृण प्रवाह गरि भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरेको हो ।  बैंकका तत्कालिन सञ्चालक समितिका सदस्यहरु र अन्य कर्मचारीहरुको मिलेमतो रहेको भन्दै उनीहरुलाई पनि अख्तियारले भ्रष्टाचारको अभियोग लगाएको थियो । यस्तै  नक्कली उद्योग खडा गरि ऋण लिनेहरुलाई समेत अख्तियारले विपक्षी बनाएको थियो ।

अख्तियारले नक्कली उद्योग र ऋणी खडा गरि भ्रष्टाचार गर्ने ब्यवसायीलाई चार समुहमा विभाजनगर्दै कारवाही अघि बढाएको हो ।

मोहन सहनी नेतृत्वको ५५ जनाको समुह, लक्ष्मीप्रसाद आचार्य नेतृत्वको ५१ जनाको समुह, महेन्द्र गड्तौलाको नेतृत्वको १७ जनाको समुह र विश्वप्रिया मल्लको नेतृत्वमा रहेको १९ जनाको समुहलाई विभाजनगर्दै अलग अलग मुद्दा दर्ता भएको हो ।

पक्राउ परेका आचार्य समुहका नाईके लक्ष्मीप्रसाद बिरुद्ध  १५ करोड ५३ लाख २९ हजार १ सय ५६ लिएकोमा अख्तियारले २१ करोड ३८ लाख ८० हजार २ सय रुपैँया विगो मागेको थियो।

प्रकाशित: २८ पुस २०७३ ०१:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App