समाज

लाईसेन्सको आवेदन फाराम भर्नेको भीड

बाग्लुङ- जिल्लामा चार वर्षपछि पहिलो पटक सवारी चालक अनुमति पत्र लाईसेन्स वितरणका लागि आवेदन खुलेको छ। मंगलबारदेखि आवेदन फाराम खुलेसंगै फाराम भर्ने युवाहरुको भीड लागेको छ। मंगलबार पहिलो दिन मात्रै ८ सय बढिले सवारी चालक अनुमति पत्रका लागि आवेदन भरेको यातायात व्यवस्था कार्यालय धौलागिरी बाग्लुङका प्रमुख राजेन्द्र घिमिरेले बताए। ‘आवेदन फाराम भर्ने युवाहरुमा निकै उत्साह छ,’ घिमिरेले भने,‘पहिलो दिनमै ८ सय १२ जनाले फाराम भरेका छन्।’

आवेदन खुलेसंगै धौलागिरीका साथै कास्की लगायत अन्य विभीन्न जिल्लाबाट समेत फाराम भर्नेहरु आएका छन्।  ‘धौलागिरी बाहेक अन्य जिल्लाबाट पनि फाराम भर्नेहरु आएका छन्,’ उनले भने, अन्य ठाउँमा असफल भएको तीन महिना कटेको छ भने जहाँबाट आए पनि फाराम भर्न पाईछ।’ आवेदन फाराम भर्नेहरुको संख्या हेरेर परीक्षा सञ्चालनको मिति निर्धारण गरिने उनले बताए।

 ‘पहिलो दिन धेरै युवाहरुले फाराम भरे, दोस्रो दिनको अवस्था हेर्छौं,’ उनले भने,‘सहभागिता कस्तो हुन्छ? हाम्रो सर्वरले कत्ति काम गर्छ? त्यसको आधारमा परीक्षा मिति निर्धारण गर्छौं।’ यो शुक्रबार सम्म आवेदन लिएर अर्को शुक्रबार शनिबारसम्म परीक्षा लिने तयारीमा कार्यालय रहेको उनले बताए। लाईसेन्सका लागि आवेदन खुलेपछि यहाँका युवाहरु उत्साही भएका छन्।

यातायात विभागले लाईसेन्सका लागि नया नियम लागू गरेसंगै धौलागिरीमा चार वर्षदेखि लाईसेन्स वितरण हुन सकेको थिएन। नयाँ नियम अनुसार ट्रायल लिने ठाउँको व्यवस्था भएपछि यातायात व्यवस्था कार्यालय धौलागिरीले मंगलबार, बुधबार, र बिहीबार तीन दिन मोटर साईकल र शुक्रबार स्कुटरका लागि लाईसेन्स लिन आवेदन माग गरेको छ। उक्त दिनमा बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म आवेदन फाराम भर्न सकिने यातायात व्यवस्था कार्यालय धौलागिरीले जनाएको छ।

 

 

 

प्रकाशित: २६ पुस २०७३ १२:४९ मंगलबार

लाईसेन्सको आवेदन फाराम भर्नेको भीड