समाज

इलामको मेलामा ठेलमठेल हुँदा तीन जना गम्भीर, ठूलो संख्यामा घाइते

घाइतेहरूको इलाम अस्पतालमा उपचार हुँदै।

इलाम सदरमुकामको ठूलो टुँडिखेलमा चलिरहेको मेलामा ठेलमठेल हुँदा ठूलो संख्याका मानिस घाइते भएका छन्। इलाम अस्पतालमा उपचाररत १५ घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेकाले बाहिर रेफर गरिएको छ।  

टुँडिखेलमा चलिरहेको मेलामा साँझको सांगीतिक कार्यक्रमका लागि टिकट काटेर छिर्ने बेला दर्शकबीच ठेलमठेल भएको प्रशासनले जनाएको छ। त्यसक्रममा किचिएर उनीहरू घाइते भएका हुन्। घटनामा कतिजना घाइते छन् भन्ने खुलेको छैन। तर, अहिले पनि अस्पतालमा उपचार गराउन घाइतेहरू आइरहेको अस्पताल व्यवस्थापक क्षितिज खतिवडाले बताए। ‘३ जनालाई रेफर गरेका छौं,’ उनले भने, ‘१२ जनाको अहिले उपचार भइरहेको छ।’  

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले घाइतेको अवस्था सामान्य रहेको र सुरक्षाका सबै अंग अहिले टुँडिखेलमा परिचालन गरिएको बताए।  

राहसल बाल अनाथालयका लागि सहयोग संकलन गर्ने उद्देश्यले टुँडिखेलमा मेला चलिरहेको छ। मेलामा आज गायक प्रमोद खरेलको सांगीतिक कार्यक्रम थियो। कार्यक्रममा सहभागी हुन आउने दर्शकले टुँडिखेलको गेटमा उकुसमुकुस भएका दर्शकको बलले नै गेट खुस्किएर ठेलमठेल भएको बताएका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी छ। 

प्रकाशित: १ वैशाख २०८० १६:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App