समाज

नारायणगढ-मुग्लिन सडकमा बस खस्यो, एकको मृत्यु, २६ घाइते

फाइल तस्बिर/नागरिक

चितवन–मुग्लिन नारायणगढ सडक खण्डको कालिखोलामा सोमबार मध्यरातमा यात्रु बस सडकबाट लगभग सय मिटर तल खस्दा एकजना यात्रुको निधन भएको छ भने २६ जना घाइते भएका छन् । 

मलंगवाबाट काठमाडौं जाँदै गरेको ना ४ ख ५४४२ नम्बरको यात्रु बस मध्यरातको १२ बजेर ४२ मिनेट जाँदा दुर्घटनाग्रस्त भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दीपक थापाले जानकारी दिए ।

बस सडकबाट लगभग सय मिटर तल खसे पनि त्रिशुली नदीमा भने नपुगेको उद्धारमा संलग्न इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । घटना स्थलमै पुगेका एसपी थापाका अनुसार घटना स्थलमा एकजना यात्रु मृत फेला परेका छन् । २६ जनाको घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ । केही घाइतेको अवस्था चिन्ता जनक रहेको एसपी थापाले बताए ।

बसमा २७ जना यात्रु रहेको जानकारी आएको हुँदा कोही नहराएको प्रहरीको भनाइ छ । सो सडक खण्डमा भदौयता ठुला दुर्घटनाहरु भइरहेका छन् । भदौ १० गते रौतहटबाट पोखरा जाँदै गरेको बस कालिखोलामै दुर्घटना हुँदा २२ यात्रुको ज्यान गएको थियो । १६ यात्रु घाइते भएका थिए भने केही हराइ रहेका छन् । कात्तिक २ मा काठमाडौंबाट भैरहवा जाँदै गरेको यात्रु बस त्रिशुलीमा खस्दा एकजनाको ज्यान गएको थियो ।

प्रकाशित: १२ पुस २०७३ ०२:१२ मंगलबार

नारायणगढ-मुग्लिन सडकमा बस खस्यो एकको मृत्यु २६ घाइते