समाज

मूर्ति खोज्दा भेटिए खुँखार अपराधी र घातक हतियार

प्रहरीले बरामद गरेका हतियारहरु । तस्बिरः डिबी बुढा

काठमाडौं– प्रहरीले जुम्लाको प्रसिद्ध चन्दननाथ मन्दिरबाट चोरिएका मूर्ती फेला पार्न नसके पनि अनुसन्धानमा फरार अपराधी र घातक हतियार तथा बिस्फोटक पर्दाथ बरामद गरेको छ।

घटना लगत्तै देशभर सक्रिय रहेको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मंसिर अन्तिम साता काठमाडौंबाट नियन्त्रणमा लिएका एक ब्यक्तिको सुचनाका आधारमा आधा दर्जन स्वचालित हतियार, गोली र बिस्फोटक पर्दाथ जुम्लामा बरामद गरेको हो । पक्राउ परेका बेदनराज थापा हत्या र श्रृखलावद्ध डकैतीमा संलग्न रहेका फरार अभियुक्त भएको खुलेको छ।

देशभर सक्रिय रहेको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मंसिर अन्तिम साता काठमाडौंबाट नियन्त्रणमा लिएका एक ब्यक्तिको सूचनाका आधारमा आधा दर्जन स्वचालित हतियार, गोली र बिस्फोटक पर्दाथ जुम्लामा बरामद गरेको हो ।

ब्युरोका अनुसार देशको हिमाली क्षेत्रमा हतियारका आडमा लुटपाटमा संलग्न समुहका नाईके रहेका बेदनराज थापा एक हत्या र तीन डकैतीमा संलग्न रहेको आरोपमा फरार अभियुक्त हुन्। ब्युरोका अनुसार थापा कर्तब्य ज्यान मुद्दामा सर्वस्व सहित जन्मकैद  र हातहतियार खरखजाना मुद्दामा पाँच वर्ष कैदको फैसला भएको छ । यस्तै जुम्ला प्रशासन कार्यालयबाट बारेन्ट जारी भएका फरार अभियुक्त थापा बिरुद्ध डोल्पामा डकैती मुद्दामा खोजतलास भै रहेको छ।

ब्युरोका प्रमुख डिआईजी नवराज सिलवालले मूर्ति चोरीको घटनाको अनुसन्धानका क्रममा प्रहरीले नियन्त्रणमा लिएका अधिकांश ब्यक्ती कुनै न कुनै घटनामा संलग्न रहेको खुल्ने गरेको बताए। उनले जुम्ला घटनाको अनुसन्धानका लागि देशभर ब्युरोको टोली परिचालन भएको बताए।

प्रहरीका अनुसार मंसिर २ गते डोल्पाको नाउलीमा थापाको नेतृत्वमा रहेका दुईजनाको समुहले जुम्लाका नन्दबहादुर रावललाई पेस्तोल देखाएर नगद लुटपाट गरेको थियो। यस्तै भदौ एक देखि आठ गतेसम्म जुम्लाका विभिन्न ठाँउमा भएको डकैतीमा संलग्न थिए। प्रहरीका अनुसार थापा सहित अम्मर बुढा, युुुुवराज न्यौपाने, राजेन्द्र बुढा, तुम्ती भन्ने राम बुढा, बिमल बुढा र अनिल बुढा समेतको संलग्नतामा चारवटा घटना भएको हो।  

चन्दननाथ मन्दिरबाट गत मंसिर ११ गते राति मुर्ति चोरी भएको घटनाबारे अनुसन्धानमा लागेको प्रहरीले जुम्लाका विभिन्न स्थानबाट स्वचालित तथा अर्ध स्वचालित हतिायर बरामद गरेको हो । जुम्लाको गज्र्यांकोट–८ का जंगलबाट दुई थान एसएलआरसहित, तीन थान पेस्तोल र दुई थान रिभल्वर बरामद गरेको हो। र थ्रिनटथ्री राइफलमा प्रयोग हुने गोली २ थान बरामद गरिएको हो।

यस्तै भारतीय सेनाले प्रयोग गर्ने अटोमेटिक पेस्तोल १ थान र तीन राउण्ड गोली, भारतीय कम्पनीकै स्वाचालित पेस्तोल १, रिभल्वर दुई थान र ५ राउण्ड गोली, नम्वर मेटिएको ६ वटा गोली प्रयोग हुने रिभल्वर एक थान, कटुवा पेस्तोल एक थान बरामद गरिएको हो। केप र फयुजसहितको डेटोनेटर ७ थान, पेस्तोल सफा गर्ने गज एक थान बरामद गरिएको छ।

प्रकाशित: ११ पुस २०७३ १३:४९ सोमबार

मूर्ति खोज्दा भेटिए खुँखार अपराधी घातक हतियार