समाज

चीन जोड्ने सबैभन्दा छोटो नाका खाेल्ने तयारी

ताप्लेजुङ–स्थानीय बासिन्दाको सक्रिय लगानी र सरकारको साझेदारीमा निमार्ण हुने नेपाल र चीन जोड्ने सबैभन्दा छोटो नाका टीपतालापासबाट ओलाङचुुङगोला तर्फको सडक शुक्रबारबाट खन्न थालिने भएको छ । टीपतालापासबाट गोला तर्फको २२ किलोमिटर भागको निमार्ण कार्य शुक्रबारबाट सुरु गर्ने योजना अनुरुप सबै तयारी पूरा भएको निमार्ण सरोकार समितिका प्रमुख संरक्षक ताम्ला (उक्याव)लामालाई उधृत गर्दै स्थानीय लाक्पा रुइतले जानकारी दिए।

उनका अनुसार बिहीबार साँझ सम्ममा चीनको स्वशासित क्षेत्र तीब्बतको तिङ काउन्टीको रिउ बजारका स्थानीयसँग भएका २ वटा डोजर टीपतालापास सम्म ल्याइपुर्याइने छ। रुइतले शुक्रबारबाट सडक निमार्ण कार्य सुरु गर्न गोलामा रहेको साढे चार शताब्दी पुरानो दिकी छ्योलिङ सहितका दर्जनौं गुम्बामा बिहीबार बौद्ध दर्शन अनुसार पूजा र बत्ति बाल्ने कार्य समेत गरिएको छ।

बौद्ध समूदायले शुभकार्य सुरु गर्नुु पूर्व गुम्बाहरुमा पूजापाठ र बत्ति बाल्ने कार्य गरेमा कार्य सफल रहने जन विश्वास राख्छन्। सडक खन्ने क्रममा कुुनै कठिनाई देखा नपरोस् भनेर गुुम्बाहरुमा पूजापाठ र बत्ति बाल्ने कार्य गरिएको उनले जानकारी दिए। रुइतका अनुसार सडक खन्ने कार्यमा व्यवधान नआओस् भन्ने कामनासहित बिहीबार बिहान सदरमुकाम फुङलिङमा रहेको गवन निर्मित गुम्बामा पनि बत्ति बालिएको छ।

ताप्लेजुङका जनप्रतिनिधिको आग्रह र स्थानीयको अग्ररतामा सरकारले टीपतालापास हुँदै ओलाङचुङगोलातर्फ सडक खन्ने प्रकृयाकालागि प्रयोग गरी तिब्बतको तिङ काउन्टीको रिउ बजारका स्थानीयसँग भएका डोजर प्रयोग गरी सडक खन्ने अनुमतिका लागि तिब्बत सरकारसँग समन्वय गरेको थियो। परराष्ट्र मन्त्रालयलाई समन्वयका लागि भौतिक योजना मन्त्रालयले गरेको लिखित पत्रको तिब्बत सरकारले १७ नोभेम्बर २०१६ मा नेपाल सरकारलाई अनुुमति दिएपछि टिपतालापास हुँदै गोला तर्फ बाटो खन्ने प्रकृयाले औपचारिकता पाएको हो।

स्थानीय बासिन्दाको प्रत्यक्ष लगानीमा संसद विकास कोष, उत्तर दक्षिण लोकमार्ग आयोजना र गाँउ विकास समितिको बजेट परिचालन गरी करिव ५ करोडको लगानीमा सडक निमार्ण कार्य सुरु हुुन लागेको हो। टिपतालापास देखि ओलाङचुङगोला सम्मको दूरीलाई सडक सञ्जालमा जोड्न ताप्लेजुङको ओलाङचुङगोलाका तेञ्जिङ (उक्याव) लामाले एक्लै ५५ लाख रुपैयाँ सहयोग गरेका छन्।

अमेरिकामा रहेका उत्तरी दुुर्गम क्षेत्रका बासिन्दाले पनि यस कार्यमा लाखौं सहयोग गरेको सडक निमार्ण सरोकार समितिले जनाएको छ। टीपतालापासलाई नेपाल  र चीनको जोड्ने सबैभन्दा छोटोे मार्गको रुपमा हेरिएको छ। चीनको स्वसासित क्षेत्र तिब्बतले रिउ बजारबाट टिपतालापास सम्मको ८ किलोमिटर दूरीलाई सडक सञ्जालमार्फत जोडिसकेको छ। अव टिपतालापासबाट ओलाङचुङगोला सम्मको २२ किलोमिटर दूरीपनि सडक सञ्जालल जोडिए दुर्गम गाँउ ओलाङचुङगोलाबाट चीनको रिउ बजारसम्म सोझै सडक सञ्जाल जोडिने छ।

प्रकाशित: ७ पुस २०७३ ०९:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App