समाज

युवा संघका रुपन्देही अध्यक्ष तिवारीको गोली हानी हत्या (अपडेट)

काठमाडौं— एमालेको भातृ संगठन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएको छ। युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहारीले 'तिवारीको गोली हानी हत्या भएको' नागरिकन्युजलाई बताए।

'उहाँको गोली हानी हत्या भएको छ। यो विषयलाई लिएर कसरी अघि बढ्ने भनेर पाँच बजे हाम्रो बैठक बस्दैछ', उनले भने।

गोली लागेर ढलेका उनलाई देवदह मेडिकल कलेज अस्पताल पुर्‍याइएकोमा चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्।

देवदहको खैरानीमा उनीमाथि गोली प्रहार भएको हो। देबदहको खैरानी बजारमा मोटरसाइकल चढेर अाएका दुई जनाले गोली प्रहरी डिएसपी मुकुन्द मरासिनीले जानकारी दिए।

'देवदह ८ मा उहाँमाथि आक्रमण भएको खबर पाएपछि प्रहरी घटनास्थल पुगेको छ। घटनास्थललाई घेरा हालेर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। आक्रमणकारीको खोजतलासका लागि प्रहरी सक्रियता बढाइएको छ', उनले नागरिकन्युजसँग भने।

गोली प्रहार गर्नेको पहिचान हुन सकेको छैन। पाँच नम्बर प्रदेशबाट पहाड अलग पार्ने गरी संविधान संशोधन प्रस्तावविरुद्धको अान्दोलनमा तिवारी सक्रिय थिए।

प्रकाशित: ४ पुस २०७३ १०:३९ सोमबार

युवा संघका रुपन्देही अध्यक्ष तिवारीको गोली हानी हत्या अपडेट