समाज

महिला उद्यमी महासंघमा नयाँ नेतृत्व

काठमाडौं- महिला उद्यमी महासंघ नेपालको १३औं वार्षिक साधारण सभा नयाँ नेतृत्व चयन गर्दै शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ। सभाले भवानी राणाको अध्यक्षतामा १९ सदस्यीय नयाँ समिति चयन गरेको हो। वरिष्ठ उपाध्यक्षमा शारदा रिजाल, द्वितीय उपाध्यक्षमा रीता सिंहा, तृतीय उपाध्यक्ष निरु रायमाझी खत्री, महासचिव शोभा ज्ञवाली, सचिवमा प्रश्ना श्रेष्ठ र कोषाध्यक्षमा हजुरी बिष्ट चयन भएका छन्। यसै गरी सदस्यमा सुमिता वैद्य श्रेष्ठ, वसन्ती प्रधान, महालक्ष्मी श्रेष्ठ, सुमित्रा पलान्चोके, मनिषा घिमिरे, कुन्नम पोख्रेल, आनन्दशोभा ताम्राकार, तारा तितुङ, लक्ष्मी खनाल, सरस्वती भण्डारी, सरस्वती शर्मा र शीला नेपाली रहेका छन्।

साधारण सभाका अवसरमा उत्कृष्ट महिला उद्यमीलाई पुरस्कार वितरण गरिएको थियो। जाजरकोटकी शीला नेपालीले प्रथम, पर्वतकी सरस्वती भण्डारीले द्वितीय, सुनसरीकी डम्बरकुमारी श्रेष्ठले तृतीय र कास्कीकी पेबाकी बरालले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए।

कार्यक्रममा वक्ताहरूले मुलुकको आर्थिक समृद्धिका लागि महिला उद्यमीको अग्रसरता र सहभागिता बढाउनुपर्ने बताएका थिए। नवनिर्वाचित अध्यक्ष राणाले छिमेकी देशको तुलनामा नेपालमा महिला उद्यमीको संख्या कम भएकाले बढाउनुपर्ने बताइन्। 'चीन र भारतमा महिला उद्यमीको संख्या निकै बढेको छ,' राणाले भनिन्, 'नेपालमा अहिले पनि १० प्रतिशतमात्र रहेको छ। यसलाई बढाउनुपर्छ।' सहभागितामूलक अर्थतन्त्रका लागि महिलाको सहभागिता अनिवार्य रहेको उनले बताइन्।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले महिला उद्यमीको क्षमता अभिवृद्धि गर्न सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए। '३० जिल्लामा रहेको महिला उद्यमीको संस्था देशभर नै विस्तार हुनेमा आशावादी छु,' उनले भने, 'घरेलु उद्योगमा मात्र नभएर ठूला उद्योगमा पनि महिलाको सहभागिता बढाउनुपर्छ।' महिलाका उद्योगमा विदेशी लगानी ल्याउन गृहकार्य भइरहेको भए पनि त्यसमा सरकारी अधिकारी बाधक भएको महासंघकी प्रथम उपाध्यक्ष शारदा रिजालले बताइन्। महिला उद्यमीको विकासका लागि पञ्चवर्षीय योजना बनाएकाले त्यसलाई कार्यान्वयमा ल्याउनुपर्ने निवर्तमान अध्यक्ष रीता भण्डारीले बताइन्।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका ईश्वरीप्रसाद घिमिरेले महिला उद्यमीका उत्पादनलाई स्वदेशी तथा विदेशी बजारमा प्रवर्द्धन गर्न सरकारले सघाउने बताए।

प्रकाशित: १८ मंसिर २०७३ ०२:४६ शनिबार

महिला उद्यमी महासंघमा नेतृत्व