समाज

पञ्चकोशी चिनाउन धार्मिक यात्रा सुरु

हिन्दुहरूको पवित्र तीर्थस्थल पशुपतिदेखि धार्मिक तथा ऐतिहासिक महत्व बोकेको दैलेखस्थित पञ्चकोशी तीर्थस्थलसम्मको धार्मिक यात्रा सुरु भएको छ। ऐतिहासिक, धार्मिक र सांस्कृतिक रूपले संघीय राजधानीसँग दैलेखलाई जोड्न पशुपतिदेखि पञ्चकोशीसम्मको यात्रा सुरु गरिएको मनघरी फाउन्डेसनका अध्यक्ष भरतबन्धु थापाले बताए। ‘देशविदेशमा पञ्चकोशी क्षेत्रलाई प्रचार गर्नु यस यात्राको मुख्य उद्देश्य हो’,फाउन्डेसनका अध्यक्ष थापाले भने, ‘यस यात्राले पञ्चकोशीको महिमाबारे अझ मजबुत बनाउने छ।’

मनघरी फाउन्डेसनको आयोजना र दैलेखी सेवा समाज काठमाडौं, दुल्लु नगरपालिका, भैरवी गाउँपालिकालगायतको सहकार्यमा दैलेखको पञ्चकोशस्थलको महत्व र प्रचार–प्रसारका लागि यात्रा आयोजना गरिएको छ। कर्णाली प्रदेश धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण क्षेत्र भएकाले पर्यटकीय सम्भावना प्रचुर भएर पनि यो क्षेत्रको उचित प्रचार–प्रसार हुन नसकेका बेला यो यात्राले पञ्चकोशी प्रवद्र्धनमा सहयोग पुग्ने कर्णाली प्रदेशसभाका सांसद घनश्याम भण्डारीले बताए।

पश्चिमका क्षेत्रमा पर्यटकीय गतिविधि नहुनुको मुख्य कारण गन्तव्यको उचित प्रचार–प्रसार र पर्याप्त पूर्वाधार नहुनु रहेको कार्यक्रममा सहभागीले बताए। पर्यटकीय हिसाबले महत्वपूर्ण रहेका स्थानलाई नेपाल तथा विश्वमाझ चिनाउन आवश्यक ठानेर यो धार्मिक यात्रामार्फत संघीय राजधानी काठमाडौसँग जोड्न र प्रदेश तथा जिल्लाका पर्यटकीय स्थल गन्तव्यका रूपमा स्थापित हुने सांसद भण्डारीले विश्वास व्यक्त गरे। दैलेख जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य अमर थापा, दिक्पाल शाही, दीपा शर्मा, सीता राना, सूर्यकुमारी श्रेष्ठ र प्रदेशसभा सदस्य कर्णाली प्रदेशका घनश्याम भण्डारी, जानकी सिंह, इन्द्राकुमारी शाही, कृष्णकुमार बिसी, प्रमुख जिल्ला अधिकारी काठमाडौंका घनश्याम उपाध्याय, प्रमुख जिल्ला अधिकारी ललितपुरका जयनारायण आचार्य र प्रमुख जिल्ला अधिकारी भक्तपुरका खगेन्द्र रिजाललगायतको उपस्थितिमा यात्रा सुरु गरेको हो।

प्रकाशित: ६ चैत्र २०७९ ०२:५१ सोमबार