समाज

ससुराली र धनको आडमा लिन्छन् नागरिकता

सिरहा-असोज दोस्रो साता इलाका प्रहरी कार्यालय लहान– ५ मा कुटाकुट भयो। कुटपिट गर्ने लहान– ५ का ज्याउल रहमानमाथि प्रहरीले सार्वजनिक अपराधको मुद्दा चलायो। मुद्दाको फाइलसहित आरोपित रहमानलाई बयानका लागि सरकारी वकिल कार्यालय सिरहा लगियो।

तर, लहान– ५ स्थायी निवासी रहमानले आफू भारतीय नागरिक भएको बयान दिए।

सार्वजनिक अपराधसँगै प्रहरीले रहमानको नागरिकताबारे बुझ्यो । अनुसन्धानमा देखियो— नाम: मोहम्मद ज्याउल रहमान, पिताको नाम : दोस्त मोहम्मद, नागरिकता नम्बर १५३००५/२०१, लहान– ५ सिरहा । नागरिकता जारी गर्ने टोली प्रमुख शिवराम यादव । रहमानले ०६३ चैत २९ मा लहान– ५ मा खटिएको नागरिकता टोलीबाट जन्मसिद्ध नागरिकताको प्रमाणपत्र लिएका थिए ।

भारत मधुवनी जिल्ला लौकाहा ग्रामपञ्चायत– ९ स्थायी घर भएका रहमानले कसरी नेपाली नागरिकता प्रमाणपत्र पाए ?

                इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक पाचु चौधरी भन्छन्, ‘नेपाली नागरिकतामा पिता बनेका दोस्त मोहम्मद रहमानका ससुरा हुन् ।’ नेपाली नागरिकता प्राप्त गर्न रहमानले ससुरालाई पिता बनाए र नेपाली नागरिक बने ।

नौ जनाको शृंखलाबद्ध हत्या गरेको आरोपमा मोहम्मद मुस्तकिम उर्फ रइस मियाँलाई दुई महिनाअगाडि सप्तरी प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीको सहयोगमा पक्राउ ग¥यो । उनी वैदेशिक रोजगारीका लागि खाडी उड्दै थिए । पक्राउपछि अनुसन्धानमा खुल्यो— भारतीय नागरिक उनले नेपाली नागरिकता प्राप्त गरी सोही आधारमा राहदानी बनाएर दोस्रोपटक रोजगारीका लागि खाडी उड्दै थिए ।

बिहारको मधुबनी जिल्ला लौकहा बगमरिया घर भएका रइसले सप्तरीको सारस्वर– ७ बाट वंशज नागरिकता प्राप्त गरेका छन् । इलाका प्रशासन कार्यालय बोदेवरसाइनका अनुसार ०६३ चैत १० को नागरिकता टोलीबाट उनले नागरिकता पाएका थिए । उनको नागरिकता नम्बर ०६३१०६–४९० छ ।

रइसको नागरिकतामा बुवाको नाम मुराइ मिया“ कुजरा छ, जो उनका ससुरा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सोही नागरिकताको आधारमा रइसले ०६५ वैशाख ४ गते हस्तलिखित र ०७० साल फागुन ११ गते मेसिन रिडेबल राहदानी लिएको इलाका प्रशासनको तथ्यांकमा उल्लेख छ ।

जिल्ला प्रशासन सुनसरीबाट आपराधिक पृष्ठभूमिका दर्जनभन्दा बढी व्यक्तिलाई नागरिकता दिइएको प्रहरीको अनुसन्धान प्रतिवेदनमै रहेको प्रहरी अधिकारीले जनाएका छन् । प्रतिवेदनका अनुसार भारत र नेपालको सीमामा बसेर दुवैतिर आपराधिक गतिविधिमा संलग्न उनीहरूले ‘आवरण ढाक्न’ नेपालबाट नागरिकता लिएको बुझिन्छ ।

                बिहारका कुख्यात अपराधी मुखियाजी भनेर चर्चित धीरेन्द्र यादवले सुनसरी र सप्तरीबाट नागरिकता लिएको प्रहरी प्रतिवेदनमा उल्लेख छ । ०६३ मा सुनसरीको पश्चिम कुसहवा गाविसबाट महेश यादवको नाममा उनले नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए । हत्या, अपहरण र फिरौतीलगायत दर्जनौं अपराधमा संलग्न भएका उनले सप्तरीको बभनगामाकटीबाट ०६३ मै महावीर यादवको छोरा शंकर यादवका नाममा पनि नागरिकता लिएका थिए ।

                यादवले कृषि विकास बैंक राजविराजका तत्कालीन प्रमुख विक्रम साहको गोली हानी हत्या गरेका थिए । राजविराजकै डा. मुरलीप्रसाद सिंहको अपहरण गरेका थिए । पक्राउ परेर कारागार चलान भएका उनी झुम्कास्थित कारागारमा सुरुङ खनेर भाग्ने मुख्य योजनाकारमध्ये एक हुन् ।

धीरेन्द्रको समूहका सुटर भनेर चिनिने अर्का कुख्यात बमबम यादवले पनि सुनसरीबाट नागरिकता लिएका थिए । यादवकै समूहका उनले नक्कली बाबु र साक्षी खडा गरेर नागरिकता वितरण गर्ने घुम्ती टोलीबाट नागरिकता प्राप्त गरेका थिए । बमबम पनि कारागारबाट भागे । यसैगरी भारतीय कुख्यात अपराधी सुभास झा पनि  सुनसरीको श्रीपुरबाट नेपाली नागरिक बनेका थिए । बिहारको वीरपुर ग्रामपञ्चायतका झाले सुनसरीको श्रीपुर जब्दीबाट ०६३ मा दिनेश झा बनेर नेपाली नागरिकता लिएका थिए । नागरिकता लिएका झा केही समय जनतान्त्रिक तराई मुक्ति मोर्चाका नाममा यस क्षेत्रमा आतंक मच्चाएका थिए ।

गृह मन्त्रालयका अनुसार ०५५ यता गैरकानुनी रूपमा गैरनेपालीले लिएको नागरिकता रद्द गरिएकामध्ये ९५ प्रतिशत भारतीय छन् । प्राध्यापक चक्रपाणि दाहाल भारतसँगको खुला सिमाना, मिल्दोजुल्दो भाषा, भेष र संस्कृति तथा रोटीबेटी सम्बन्धले सीमा क्षेत्रमा नवनेपालीको बिगबिगी बढिरहेको बताउँछन् । ‘भारतीयले नेपाली नागरिकता पाए, समाजमा नवनागरिकको दबदबा बढ्यो भनेर चिन्ता गर्ने हामीले नै सिफारिस गरिदिएर उनीहरु नेपाली नागरिकताधारी भएको कटु यथार्थ हो,’ प्राध्यापक दाहाल भन्छन्, ‘पारिबाट आएका उनीहरु आर्थिक रुपमा हामीभन्दा सम्पन्न हुन्छन् । उनीहरु पहिला यहाँ सम्बन्ध बढाउँछन् । अनि, त्यही सम्बन्धको आडमा आफूलाई नेपाली नागरिकका लागि सिफारिस गर्न लगाउँछन्।’

नागरिकता वितरणमा कडाइ, सिफारिस गर्ने हकमा राजनीतिक इमानदारिता नभएसम्म नवनागरिकको वर्चस्व समाजमा बढ्दै जाने दाहालको तर्क छ ।

अधिकारकर्मी विनोद कुमार बिसुन्खे मधेसका दलित, जनजाति, चमार, डोम, मुसहर लगायत हजारौंले अझै नागरिकता पाउन नसकेको तर ज्वाइँ–भान्जाको नाममा नवनागरिक बढिरहेकामा चिन्ता व्यक्त गर्छन् ।

                ‘०६३, ०६४ र ०७० मा टोलीमार्फत गाउँगाउँमा नागरिकता वितरण भयो । हजारौंले नागरिकता पाए, पारिका ज्वाइँदेखि भान्जासम्मले पनि नागरिकता पाए तर मधेसका उत्पीडितले नेपाली नागरिकता पाएनन्,’ उनले भने।

सिरहा विष्णुपुरकट्टीमा मुसहर समुदायका ४८ जनाले मुचुल्का गरिदिने पाँच जना साक्षी नहुँदा गाउँमै आएको नागरिकता टोलीबाट समेत नागरिकता प्राप्त गर्न सकेनन् ।      

गोलबजार नगरपालिकाका समाजसेवी जिबछ साह मधेसमा ‘नवनागरिक’ को दबदबा बढ्दै गएको तर मधेसका रैथानेले नागरिकता नपाइरहेको बताउँछन् । ‘यहाँका उत्पीडित समुदाय आर्थिक रुपमा कमजोर छन्, समाज र प्रशासनमा पहुँच छैन तर भारतबाट आउने धनीले समाजमा छिटै प्रभाव जमाएका छन्,’ उनले भने । नवनागरिकका कारण रैथानेहरु समाजमा छापिने अवस्थामा पुगेको उनको भनाइ छ ।

वंशज र जन्मसिद्ध नागरिकता प्राप्त नवनागरिकले भरिँदै गएको समाजमा अंगीकृत नागरिकको संख्या थप्ने कार्यले रैथाने नेपालीको राजनीतिक र संवैधानिक अधिकार संकटमा पर्ने प्राध्यापक दाहालको तर्क छ। ‘बिहार, उत्तर प्रदेशका मात्र होइन, सिक्किम, नागाल्यान्डबाट आएका प्रशस्तै गैरनेपालीले नेपाली नागरिकता लिएका छन्,’ उनले भने, ‘हामी इमानदार बन्नुपर्छ र सरकारले यसबारे कडा निर्णय लिन सक्नुपर्छ ।’

                सामाजिक विश्लेषक अर्जुन थपलिया कालो धन सेतो बनाउन नेपालबाट सहज हुने भएकाले पनि भारतीयको नेपाली नागरिकताप्रति आकर्षण बढेको बताउँछन् । उनी भन्छन्, ‘भारतको तुलनामा नेपालमा कर छल्न सजिलो छ । यहाँ बैंकबाट ऋण पनि सजिलै उपलब्ध हुन्छ । उताका रुपैयाँ यता ल्याउँदा मूल्य बढी हुन्छ । आम्दानीको स्रोत लुकाउन र व्यवसाय गर्न सहज भएकाले नेपाली नागरिकताप्रति भारतीयको आकर्षण बढ्दो छ ।’

जिल्ला प्रशासन सिरहाको तथ्यांक अनुसार ०७० मा अंगीकृत नागरिकता प्रमाणपत्र प्राप्त गर्ने महिलाको संख्या चार सय २१ थियो । यो वर्ष वंशज र जन्मसिद्ध नागरिकता आठ हजार ८ सय १० जनाले प्राप्त गरे। ०७१ मा अंगीकृत नागरिकता प्राप्त गर्ने महिला तीन सय ४७ थिए । यो वर्ष वंशज र जन्मसिद्ध नागरिकता आठ हजार सात सय ८४ ले प्राप्त गरे । ०७२ मा अंगीकृत नागरिकता प्राप्त गर्ने महिला दुई सय २१ थिए । यो वर्ष वंशज र जन्मसिद्ध नागरिकता ६ हजार आठ सय ९३ ले प्राप्त गरे । ०७३ को कात्तिक मसान्तसम्म एक सय ८२ महिलाले अंगीकृत नागरिकता प्राप्त गरेका छन् । यही अवधिमा जन्मसिद्ध र वंशज नागरिकता पाँच हजार नौ सय ३७ छ ।

जिल्ला प्रशासन नागरिकता शाखाका अनुसार पछिल्लो समय अंगीकृत नागरिकता लिन आउनेको संख्या घट्दो छ । प्रशासकीय अधिकृत लेखनाथ खतिवडाका अनुसार अंगीकृत नागरिकताको हकमा ऐन फेरिएको छैन । नागरिकता ऐन ०६३ कै अनुसूची अनुसार नागरिकता जारी भइरहेको उनले बताए । ‘बाहिरी हल्लाका कारण अंगीकृत नागरिकता बनाउन आउनेको संख्या घटेको हुन सक्छ तर, ऐनले कुनै छेकबार लगाएको छैन,’ उनले भने ।

प्रकाशित: ७ मंसिर २०७३ ०३:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App