समाज

पुजारी हत्या विरोधमा आन्दोलनको चेतावनी

सन्तोष पोखरेल, पोखरा बैशाख ८- पुजारी हत्या गरेर धार्मिक संस्था र मठमन्दिरमा आतकं फैलाउन खोजिएको भन्दै धार्मिक संस्थाहरुले कडा आन्दोलनको चेतावनी दिएका छन्। उनीहरुले घटना भएको ३ दिन वितिसक्दा पनि प्रशासनले दोषी पत्ता लगाउन नसकेको भन्दै आन्दोलनमा उत्रनुपरेको बताए।

गत शनिबार राती अज्ञात समुहद्वारा पोखरा उपमहानगरपालिका-१८ बाच्छाबुडुवास्थित शिवालय मन्दिरका पुजारी ६० वर्षिय मुक्तिप्रसाद पोखरेल र भलाम-१ को हरिहर गुफास्थित सन्यास आश्रमका ८५ वर्षिय तारानन्द पौडेल गिरीको हत्या भएको थियो।

मारिने दुवै पुजारी शारिरिक अशक्त थिए। हत्यासँगै गिरीको साथमा रहेको नगद र सुन समेत लुटिएको छ। स्याङ्जा मल्याङकोट-१ का अविवाहित पोखरेललाई सुतिरहेको स्थानमा फलामको रड र डुंगाले प्रहार गरिएको थियो भने गिरीको घाँटी र टाउकोमा धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको थियो।

मन्दिरमा भएको आक्रमणप्रति प्रशासन गम्भीर नभएको र अन्य मठमन्दिरका पुजारी र आश्रममा बसेका वृद्धवृद्धा समेत असुरक्षित भएको भन्दै सुरक्षा माग्दै आन्दोलन गर्नुपरेको भलामस्थित हरिहर आश्रम विकास समितिका उपाध्यक्ष त्रिलोचन पौडेलले बताए।
पौडेलका अनुसार दोषि पत्ता लगाई कारवाही गर्न दवाव दिन विभिन्न धार्मिक संस्थाले बुधबार कास्कीका प्रमुख जिल्ला अधिकारीलाई विभिन्न मागपत्र सहितको ज्ञापनपत्र बुझाउने प्रशासनमा धर्ना दिने र र् याली प्रदर्शन गर्ने तयारी भएको छ।

'चरणवद्ध आन्दोलनको तयारीमा छौ यहाँ मात्र नभई देशभरीका धार्मिक संस्थाहरुमा आक्रमण बढेपछि चुप लागेर बस्न नसक्ने अवस्थामा पुग्यौ‌' पौडेलले भने-'विरोध जुलुसदेखि नेपाल बन्द समेतका विरोधका कार्यक्रम गरिनेछ।'

हिन्दुधर्ममाथि आक्रमण भएको भन्दै आन्दोलनमा उत्रन बाध्य पारिएको पौडेलले बताए। 'पुजारीको हत्या गरेर समाजमा आतंक फैलाउने र हिन्दु धर्मप्रति वितृष्णा फैलाउन खोजिएको छ'- पौडेलले नागरिकसँग भने-'हामी जति चुप लागेर बस्छौ त्यत्ति नै असुरक्षा बढ्दै जान्छ।'

वृद्ध र अशक्त पुजारीको हत्या हुनुलाई लुटपाट मात्र नभई भय उत्पन्न गराउन खोजिएको मन्दिरका पुजारीहरुको भनाई छ। 'यस्ताखाले घटना भईरहने हो भने जुनसुकै मन्दिरमा जत्तिबेला पनि आक्रमण हुन सक्छु विरौटास्थित राम मन्दिरका पुजारी होमनाथ आचार्यले भने-'प्रशासनले मठमन्दिरमा सुरक्षा दिन सक्नुपर्छ। यस्ता आक्रमणले मान्छेको धर्मप्रतिको विश्वास घट्दैजान्छ'- आचार्यले भने।

मन्दिरका पुजारीमाथि भएको आक्रमणपछि देशभरका मठमन्दिर असुरक्षित भएको विश्वहिन्दु महासंघका पुर्व केन्द्रीय अध्यक्ष लिलाभक्त आचार्यले बताए। 'वृद्ध र अशक्त पुजारीको हत्या शंकास्पद छ उनीहरुसँग धेरै धन सम्पत्ति नभएकोले हत्या नै गर्नुपर्ने आवश्यकता थिएन'- आचार्यले भने-'प्रशासनले राम्रोसँग छानविन गरि दोषि पत्ता लगाएर कारवाहि गर्नुपर्छ।'

'धर्मप्रतिको मान्छेको आस्था राख्न पाउने स्वतन्त्र अधिकारको सरकारले प्रत्याभूत गर्नुपर्छ आचार्यले भने-'मठमन्दिरको सुरक्षाको ग्यारेण्टि नभएसम्म पुजारीले दैनिक नित्यकर्म गर्न समेत डराउनु पर्ने अवस्था आएको छ।'

घटनाको बारेमा अनुसन्धान गरिरहेको प्रहरीले घटना घटेकै दिनकेही हालसम्म ८ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरे पनि दोषि भने पत्ता लगाउन सकेको छैन। दोषि पत्ता लगाउन शकांस्पद स्थानमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरीका एसपी सुवास चौधरीले बताए।

घटनाको बारेमा छानविन गर्न डिएसपी तुलसी अधिकारीको संयोजकत्वमा प्रहरी परिचालन गरिएको चौधरीले जानकारी दिए। 'छानविन भईरहेको छ शंकास्पद स्थानमा प्रहरी पठाएका छौ अहिले सम्म हत्या गर्नुको कारण समेत खुलेको छैन'- चौधरीले भने।

प्रकाशित: ८ वैशाख २०६६ ०३:२० मंगलबार