समाज

ढुंगा–गिटी माफियाले सिध्याउँदै चुरे

रौतहट- राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागू भएको चुरे क्षेत्रबाट धमाधम ढुंगा, गिटी तथा वालुवको चोरी निकासी तिव्र रुपमा भइरहेको पाइएको छ। माफियाहरुले चुरे तथा राष्ट्रिय वन क्षेत्रवाट अनाधिकृत रुपमा चोरी तस्करी गरी खोला किनार मै चाँग लगाउने कार्य तिव्र रुपमा गरिहेपनि सम्बन्धित निकाय नियन्त्रणको प्रयास गर्न सकेको छैनन्। चुरे क्षेत्रका खहरे, खोला, खोल्सी तथा नदीहरुबाट निर्वाधरुपमा ढुँगा, गिटी र बालुवा अवैध रुपमा तस्करी भइरहेको छ।

जिल्लाको चुरे क्षेत्रसँग जोडिएको चाँदी, अल्लाजोर, हिले, धन्सार, धियाँल, डाङडुङे, बागमती लगायतका खोलाहरुबाट ढुँगा, बोल्डर र गिटी झिकेर निर्वाध रुपमा उत्खनन गरी ढुंगा संकलन तथा चाँग लगाउने कार्य भईरहेको देखिन्छ। खोलामा माफियाहरुले अवैध रुपमा ढुंगा संकलन गरी ओसार पसार गरेपनि सम्बन्धित निकायले नियन्त्रणको प्रयास गर्न नसक्दा ढुंगा संकलनकर्ताहरु (चुरे माफिया) को मनोबल बढ्दै गएको छ।

स्थानीय स्तरको विकास निर्माण कार्य अवरुद्ध हुन नदिनका लागि जिल्ला विकास समिति रौतहटले चुरेक्षेत्रवाट करिव दुई किलोमिटर दक्षिण ढुंगा गिटी निकासीका लागि वातावरणीय प्रभाव परीक्षण (आई ई ई) गरेपनि उक्त स्थानमा ढुँगा, वोल्डर छैन्।

निरन्तर ढुँगा र गिटी झिकिरहँदा खोलाको मुहान सुक्दै गएको र वातावरणीय दृष्टिले नकारात्मक प्रभाव परिरहेको नेकपा माओवादी (विप्लब समूह) को न्याय विभाग तथा पार्टी सचिवालय सदस्य प्रह्लाद फुँयालले बताउँछन्। “दैनिक रुपमा चुरेक्षेत्रवाट ढुंगा गिटी र बालुवा झिकेर तस्करी भइरहेको छ” चन्द्रपुर नगरपालिका गैँडाटारका स्थानीयबासी समेत रहेका फुँयालले आफूहरुले रोक्न खोज्दा र यसको दोहनको विषयमा विरोध गर्दा माफियाहरुले धम्क्याउने गरेका छन्। माफियाको डरले कोही पनि वोल्न सक्दैन्।”

नेपाल सरकारले प्राकृतिक स्रोत सम्पदाको खानीको रुपमा रहेका चुरे क्षेत्रेलाई जोगाउन राष्टपति चुरे संरक्षण कार्यक्रम नै लागु गरेर बर्षेनी करोडौ खर्चिएपनि माफियाहरुले दिउँसै र रातिको समयमा चुरे क्षेत्र आसपासका खोलानालाबाट अबैध रुपमा ढुंगा गिटी उत्खनन तथा खोस्रिने कार्य निरन्तर जारी राखेको कारण सरकारको लगानी वालुवामा पानी सरह नैभएको फुयाँलयको भनाइ छ।

नियन्त्रण गर्ने निकाय एकले अर्कामाथि दोष लगाउदै

पछिल्लो केही महिना यता चुरे दोहन तिव्र रुपमा भइरहेको भएपनि यसलाई नियन्त्रण गर्ने निकाय जिल्ला वन कार्यालय, जिल्ला विकास समिति तथा स्थानीय प्रशासनले एकले अर्कामाथि दोषारोपण देखाएर मौन वसेको कारण दोहन वढेको बुझिएको छ।

स्थानीय विकास अधिकारी उमेश बस्नेतले ढुँगा–गिटी अभावमा स्थानीय विकास निर्माण कार्य अवरुद्ध भएकोले पूर्व पश्चिम राजमार्ग भन्दा दक्षिणको क्षेत्रमा वातावरणीय प्रभाव (आईईई) परीक्षण गरेपनि जिल्लाको उतरी भेगमा अवस्थित चुरे फेदीबाट कसरी ढुंगा संकलन भईरहेको प्रति कुनै जानकारी नभएको बताए। वन तथा चुरे क्षेत्रमा भइरहेको दोहन रोक्न जिविसको क्षेत्राधिकार भन्दा बाहिरको बिषय बस्तु भएकोले त्यो क्षेत्र वन कार्यालयको अधिनमा रहेकोले उक्त कार्यालयले रोक्नुपर्ने प्रतिकृया दिए।

जिल्ला वन कार्यालय रौतहटका प्रमुख दिर्घ कोइरालाले चाँदी नदी तथा गैडाटार गाँउभरी चाँग लगाइएका ढुंगाहरु बाढीकै समयमा संकलन गरिएको बताए । स्थानीय प्रशासनको अगुवाईमा रहेको जिल्ला अनुगमन समितिबाट चाँडै निरीक्षण गरी संकलित ढुंगालाई जफत गर्ने बताउँछन्।

जिल्ला अनुगमन समितिका संयोजक समेत रहेका रौतहटका प्रमुख जिल्ला अधिकारी नरहरी बरालले वन तथा चुरेक्षेत्रवाट चोरी निकासी गरेर ल्याएका ढुंगा–बोल्डरलाई जफत गरी स्थानीय विकास निर्माणकोलागि टेण्डर गर्न जिल्ला वन कार्यालयलाई निर्देशन दिइसकेको बताए।

प्रकाशित: २८ कार्तिक २०७३ ११:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App