समाज

पर्वतारोही निर्मल पुर्जालाई जन्मगाउँमा स्वागत

पर्वतारोहणको क्षेत्रमा विश्वमै कीर्तिमान कायम गरेका निर्मल पुर्जा ‘निम्स’(एमबिई)लाई जन्मगाउँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा भव्य स्वागत गरिएको छ। विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल चढेर विश्व रेकर्डसहित अन्य विभिन्न कीर्तिमानीपछि पहिलोपटक जन्मभूमि दानामा आएका पुर्जालाई स्थानीयले पञ्चेबाजासहित भव्य स्वागत गरेको पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताए। ‘दानावासीले भव्य स्वागत गरेका छन्, दानामा जन्मिएर विश्वमै चर्चित हुनुभएकोमा सबैले भेटेर बधाई दिए,’ शेरचनले भने। हेलिकोप्टरमा कतारी राजपरिवारका सदस्यसहित दाना पुगेका पुर्जाले आफ्नो गाउँका लागि सक्ने सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका थिए। ‘मेरो परिवारको यो गाउँमा ठुलो योगदान छ, मैले यही गाउँबाट संसारको यात्रा गर्ने अवसर पाए, समुदायको साझा योजना बनाउनुहोस् मैले तपाईले रोजेको योजना सफल बनाउन सहयोग गर्छु,’ निर्मल पुर्जाले भने।  

निर्मलको सम्मानमा उर्लिएको समुदायलाई उनले दानाको शिक्षा, स्वास्थ्यसहित समुदायको आवश्यकतामा आधारित योजनामा सहयोगका लागि विवरण दिनसमेत अनुरोध गरेका थिए। वडाध्यक्ष रमेश पुर्जा, स्थानीय अगुवा बेलबहादुर पुर्जा, ज्ञानप्रकाश माविका प्रअ शान्त नेपाली, प्लस टु संयोजक बाबुराम पौडेल, आमा समूह, युवा क्लबलगायत स्थानीय संघसंस्थाले निर्मलसहितको टोलीलाई सम्मान गरेका थिए। ‘कीर्तिमानी पुर्जाको बाल्यकाल दानामै बितेको थियो, दानामा जन्मिएका युवा अहिले विश्वभर लोकप्रिय हुनुहुन्छ,’ वडाध्यक्ष पुर्जाले भने। उनले आफ्नो जन्मभूमिमा सहयोग गर्ने प्रतिबद्धताबाट उत्साहित भएको बताए। कीर्तिमानी पुर्जा सोमबार दानामै बसेर आफ्नो सफलतासहित विभिन्न वृत्तचित्र देखाएर छिमेकी नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालतर्फ जाने कार्यक्रम रहेको छ। पुर्जाले विश्वका अग्ला हिमाल आरोहणको सुरुवातसमेत अन्नपूर्ण हिमालबाट सुरु गरी दोस्रो आरोहण म्याग्दीमै रहेको सातौं अग्लो धौलागिरि हिमालको (८१६७ मि) मा गरेका थिए। विश्वकै अग्लो सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से, मकालु, च्होयो, मनास्लु, नांगा पहाड, गसेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो र अन्तिममा विश्वकै चौथो अग्लो शिशापङ् (८०२७ मि) हिमाल आरोहण गरी कीर्तिमानी कायम गरेका थिए। पुर्जाले आरोहण गरेका १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछन्। त्यस्तै, अरू पाकिस्तान र चीनमा छन्। पुर्जाले जाडो सिजनमा विश्वकै दोस्रो अग्लो ‘के–टु’हिमालको समेत आरोहण गरी विश्वभरका आरोहीलाई चकित पार्ने कीर्तिमानीसमेत कायम गरेका छन्।

सन् २००३ मा पोखरास्थित ब्रिटिस क्याम्पमा ब्रिटिस आर्मीमा छनोट भर्ना भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी टे«निङ सेन्टरबाट आधारभूत तालिमको ज्ञान प्राप्त गरेका थिए। कर्पोरल निर्मल बेसिक टेनिङमा च्याम्पियन रिक्रुटको उपाधि लिएर क्विन्स गोर्खा इन्जिनियर्समा गएका थिए। क्विन्स गोर्खा इन्जिनियर्सको बेसिक ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरी पेन्टिङ्ग एन्ड डेकोरेसन टे«डमा कार्यरत थिए। क्विन्स गोर्खा कार्यरत रहँदा ब्रिटिस आर्मीको कमान्डोसमेत गरेका थिए। उनले बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञको रूपमा कार्यरत पुर्जाले ब्रिटिस सेनाको रोजाइमा रहेका विश्वका धेरै हिमालको आरोहण गरिसकेका छन।  

अग्ला हिमाललाई आफ्नो घरको धुरीजस्तै सम्झिने पुर्जाले सबैभन्दा छिटो १० घण्टा १५ मिनेटमा सगरमाथाको शिखरदेखि ल्होत्सेको शिखरसम्म आरोहण गरी विश्व कीर्तिमान राखिसकेका पुर्जा सन् २०१७ मेमा ५ दिनमा ८ हजार मिटरभन्दा अग्ला सगरमाथा, मकालु र ल्होत्से हिमाल आरोहण र एउटै सिजनमा १७ दिनभित्र दुईपटक सगरमाथा चढेर ३ वटा विधामा गिनिज बुकमा वल्र्ड रेकर्ड राख्न सफल भइसकेका छन्। उनले गोर्खा एक्सिडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व सम्हालेका थिए। सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पुर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए। पुर्जालाई गत वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा कीर्तिमय राष्ट्रदीप पदकबाट विभूषितको घोषणासमेत गरेकी थिइन्। पुर्जाले नेपालसहित विश्वका विभिन्न देशबाट समेत चर्चित सम्मान प्राप्त गरिसकेका छन्।

प्रकाशित: २३ फाल्गुन २०७९ ०१:५४ मंगलबार