समाज

‘तोरन ल्ह’ पर्व मनाउँदै थकाली समुदाय

म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसंख्यक जनजाति थकाली समुदायमा तोरन ल्ह (फागुपूर्णीमा) पर्वको रौनक छाएको छ। नेपालका विभिन्न क्षेत्रमा करिब दश हजारका संख्यामा बसोबास गर्ने थकाली समुदायले फागु पूर्णीमाको अवसरमा हरेक वर्ष तीन दिनसम्म परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन्।

तोरन ल्ह मनाउन घरबाहिर र विदेशमा रहेका थकालीय आफ्नो जन्मथलो फर्किएका छन्। तोरन ल्हमा थकाली समुदायले घर सिँगारपटार गरेका छन्। फागुपूर्णीमाको अघिल्लो दिन सुरु हुने तोरन ल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली समुदायकी अगुवा समेत रहेकी गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनले बताइन्।

‘तीन दिन सबैरे उठेर चोखो निष्ठ भएर पितृलाई सम्झिएर पूजाआजा गर्ने र फूलप्रसाद चढाउनुपर्छ,’ उनले भनिन्, ‘आफन्तलाई बोलाएर मीठामीठा परिकार खुवाउने र आर्चरी (तारो हान्ने) खेल्ने चलन छ।’जिल्लाको थासाङ गाउँपालिकाको कोवाङ थकाली समुदायको उद्गमस्थल मानिन्छ।

घरपझोङ र थासाङ गाउँपालिकामा थकाली समुदायको बाहुल्य बसोबास छ। म्याग्दीको दाना, भुरुङ तातोपानी, बेनी, दरवाङ लगायत बजार क्षेत्रमा थकाली समुदायको बसोबास छ। तोरन्ल्ह पर्वको अवसरमा परम्परागत तारो हान्ने खेलको संरक्षणका लागि थकाली सेवा समिति बेनी क्षेत्रको आयोजनामा तारो खेल सुरु भएको छ।

म्हिलाहरू भने मौलिक वेषभूषामा सजिएर नाचगान गर्दै शुभकामना साटासाट गरेर तोरन्ह मनाउँछन्। तारा खेल (धनुषवाण)लाई थकाली समुदायले आफ्नो जातीय पहिचानसँग जोडेका छन्। धार्मिक ग्रन्थमा विभिन्न युद्धमा धनुषवाणको प्रयोग भएको भेटिएकाले यसको विकास मानव समाजको उत्पत्ति कालदेखि नै भएको अनुमान गरिन्छ। कुनै समय युद्धको महत्वपूर्ण हतियार, जंगली जनावरको सिकार गर्ने माध्यम धनुषवाणले अहिले खेलकुदको एउटा विधाको रुपमा मान्यता पाएको छ।

आर्चरी खेलमा प्रयोग हुने नियम र त्यसका शब्द अल्पसंख्यक थकाली समुदायको भाषासँग मिल्ने हुनाले यसलाई थकाली समुदायले आफ्नो जातीय पहिचानको मानेको थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष जगनारायण गौचनले बताइन्। एउटा समूहमा ६ जनासम्म खेलाडी सहभागी भएर खेल्ने आर्चरीमा तिखो वाण र विशेष गरेर बाँसको धनुष प्रयोग हुन्छ। पछिल्लो समय अन्य धानुकासमेत घनुष बनाउने गरिएको छ। एक सयदेखि डेढसय मिटरको दूरिमा दुईतर्फ काठका फल्याक राखेर एकबाट अर्को ठाउँतर्फ वाण प्रहार गर्ने र वाण फल्याकभित्रमा कोपिएको आधारमा खेलको मूल्यांकन हुन्छ।

फल्याकभित्र सानो गोलो आकारको घेराभित्र वाण कोपिएमा खोल पसेको भनिन्छ। खोल आर्चरी खेलमा महत्वपूर्ण उपलब्धि हो। रासस

प्रकाशित: २२ फाल्गुन २०७९ ०८:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App