समाज

कुख्यात माफिया दाउद इब्राहिमका नेपाल सहयोगी पक्राउ


काठमाडौं– प्रहरीले जाली भारतीय नोटको कारोबारमा अन्तरार्ष्ट्रिय कुख्यात माफिया दाउद इब्राहिमको प्रत्यक्ष सम्पर्कमा रहेको दाबी गरेका रबिराज सिंह अवैध कलबाईपासमा पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरोले पहिलो पटक ल्याण्डलाइन फोनको प्रयोग गर्दै अवैध कलबाइपास गरेको आरोपमा सिंहलाई नक्सालस्थित घरबाट तिहार अघि पक्राउ गरेको हो। ब्युरोका अनुसार सिंहले जाली नोट कारोबारमा पूर्पक्षका लागि दुई वर्ष थुनामा बस्दा सम्पर्कमा आएका श्रीलंकाली गिरोहको सहयोगमा अवैध कलबाईपास संचालन गरेको पुष्टि भएको छ।

सिंहले खोटाचलन मुद्दामा सफाई पाएको एक वर्षपछि अवैध कलबाईपासको धन्दा सुरु गरेको अनुसन्धानमा खुलेको छ। ब्युरोका अनुसार सिंहले सम्पूर्ण कारोबार नुवाकोटका कान्छा गुरुङको नाममा गर्दै आएका थिए।

अनलाइन बिजनेस गर्ने भन्दै गत साउनमा  कम्पनी रजिष्ट्रारको कार्यालयमा गुरुङको नाममा कम्पनी दर्ता गरेका थिए। यस्तै अवैध कलबाईपासका लागि गुरुङकै नाममा घरबहाल सम्झौता गर्दै पानीपोखरीमा कोठा भाडामा लिएका थिए। सिंहले आफूले प्रयोग गर्ने सिमकार्ड समेत गुरुङको नाममा लिएको ब्युरोले जनाएको छ।

अनलाइन बिजनेस गर्ने भन्दै गत साउनमा  कम्पनी रजिष्ट्रारको कार्यालयमा गुरुङको नाममा कम्पनी दर्ता गरेका थिए। यस्तै अवैध कलबाईपासका लागि गुरुङकै नाममा घरबहाल सम्झौता गर्दै पानीपोखरीमा कोठा भाडामा लिएका थिए। सिंहले आफूले प्रयोग गर्ने सिमकार्ड समेत गुरुङको नाममा लिएको ब्युरोले जनाएको छ।

ब्युरोका एसपी दिवेश लोहनीका अनुसार  सिंहले अवैध कलवाईपासको उपकरण जोडी एक पटकमा १२० वटा लाइनमा कलबाईपास गर्न सक्ने बनाएका थिए। दशैँ विदाको मौका पारी फुलपातीको अघिल्लो दिनदेखि कल वाईपास गरिरहेको सूचना पाएको एसपी लोहनीले बताए। ब्युरोले सिंहकोे नक्सालमा रहेको घर खानतलासी गर्दा अवैध कल बाईपासका लागि राखेको  विभिन्न दस्तावेजहरु बरामद गरेको थियो। श्रीलंकन नागरिक नेपाल आई अवैध भिओआइपी जडान गरेर श्रीलंका फर्केपछि मात्र सिंहले कलबाइपास संचालनमा ल्याएका थिए।

प्रहरीले तीन वर्ष अघि नेपाल तेक्वान्दो संघका कोषाध्यक्ष सिंहलाई पक्राउ गर्दा उनका विभिन्न नाम भएको खुलेको थियो। रवि सिंह, रविसिंह प्रधान, रवि जस्ता थुप्रै नामबाट उनले अाफ्ना कारोबार सञ्चालन गर्ने गरेका थिए। परिचय जस्तै उनको कारोबार पनि छद्म थियो। समाजमा प्रतिष्ठित खेलाडी भएको देखाउने सिंह नक्कली भारतीय नोटका कारोबारी भएको आरोपमा प्रहरीको बिशेष ब्युरोको अनुसन्धानमा खुलेको थियो। काठमाडौं प्रहरीले बैशाख ३०, २०७० मा पक्राउ सिंहलाई पक्राउ गरेको थियो।

प्रहरीले २०७० बैशाखमा गरेको अप्रेसनमा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक करोड नक्कली भारु सहित पाकिस्तानी नागरिक शेष मोहम्मद र उनका नेपाली सहयोगी नरुल्लाह पक्राउ परेका थिए। उनीहरुले प्रहरी समक्ष नक्कली भारु बोकेर आएकाहरुलाई सिंह बस्ने रातोपुलको घरसम्म पुयाउने गरेको बयान दिएका थिए।

विमानस्थलमा पक्राउ परेका मोहम्मद र उनलाई लिन विमानस्थल पुगेका काठमाडौं बागबजार निवासी नरु उल्लाहको पक्राउपछि नक्कली भारुको कारोबारमा नेपाललाई ट्रान्जिट बनाएको विषयमा अनुसन्धान थालेको थियो। नरु उल्लाहको बयानबाट रविराज सिंह, अनुराज प्रधान विभिन्न देशको हवाइमार्गबाट नेपाल भित्रिने नक्कली भारु भारतसम्म पुर्याउन सक्रिय रहेको खुलेको थियो।

प्रहरीको विशेष ब्युरोले नक्कली भारुसहित समातिएका मोहम्मद नुरु उल्लाह र रविराज सिंह दाउद समूहको प्रत्यक्ष सम्पर्कमा रहेको प्रमाण फेला पारेको थियो। जाली नोटको अनुसन्धानमा नरुउल्लाह, सिंह अफताब बट्कीको प्रत्यक्ष सम्पर्कमा रहेको तथ्य भेटिएको थियो।  बट्की दाउदका मुख्य चार सहयोगी छोटा सकिल, इकवाल मिर्ची, सुनिल दुबईपछिका हुन्।

‘अहिले जाली नोटका कारोबारीसँग कुनै सम्पर्क देखिदैन, सफाई पाएसँगै नियोजित रुपमा अवैध कलबाईपासमा लागेको देखिन्छ, यसबाटै ठुलो रकम आम्दानी गर्ने तयारी रहेछ,’ एसपी लोहनीले भने।

प्रकाशित: १८ कार्तिक २०७३ १३:०५ बिहीबार

कुख्यात माफिया दाउद इब्राहिमका नेपाल सहयोगी पक्राउ