समाज

यमपञ्चकको चाैथो दिन यसरी मनाइयो

काठमाडौं—यमपञ्चक अर्थात् तिहारको चौंथो दिन आज गाई, गोवद्र्धन र गोरुको पूजाआजा गरी मनाइएको छ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ।

गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ। नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाईपूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए। यही मान्यताका आधारमा आज गाईपूजा गरिएको हो।

आज गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन (डोरो) गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपछि गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ।

आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिएको छ। द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने चलन छ । रासस

प्रकाशित: १५ कार्तिक २०७३ ११:४५ सोमबार

यमपञ्चकको चाैथो यसरी मनाइयो